काठमाडौं– नेपाली क्रिकेट टोलीले यूएईसामू २ सय ९० रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।
क्रिकेट विश्वकप लिग-२ अन्तर्गत जारी त्रिदेशीय सिरिजको खेलमा नेपालले सुरुवाती ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २८९ रन बनाएको हो।
कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडलले पहिला ब्याटिङ गर्ने निर्णय लिएका थिए। पछिल्ला खेलमा शीर्ष क्रमको फितलो ब्याटिङका कारण अनुकुल नतिजा ल्याउन संघर्ष गरिरहेको नेपालले आज भने प्लेइङ ११ मा ब्यापक परिवर्तन गर्यो।
पछिल्ला वर्षहरुमा नेपाली टोलीको नियमित ओपनिङ सम्हाल्दै आएका आशिफ शेख र कुशल भुर्तेल नै आज बेन्चमा समेटिए। भुर्तेलको ठाउँमा अर्जुन कुमालले राष्ट्रिय टोलीमा डेब्यु गर्दा र आशिफको ठाउँमा विनोद भण्डारीले पुनरागमन गरे।
प्रधानमन्त्री कपमा सर्वाधिक रनकर्ता अर्जुन ११ रन बनाएर पभेलिय फर्किए पनि लामो समयपछि राष्ट्रिय टोलीमा फर्किएका विनोद भण्डारीले आफ्नो पुनरागमनलाई न्याय गरे। उनले अर्धशतकीय इनिङ्स खेल्दै ५६ रन बनाए। तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका भीम सार्कीको खराब लयले आज पनि निरन्तरता पायो। भीम दुई बल फेस गर्दै अजयकुमारको बलमा आउट हुन पुगे।
कप्तान रोहितकुमार पौडेलको प्रदर्शनमा आज केही सुधार आयो। उनले ४८ बलमा ३ चौकाको सहायता ३९ रन बनाउँदै जुनैद सिद्धिकीको बलमा मोहम्मद सहदादबाट क्याचआउट भए।
त्यसपछि आएका दीपेन्द्रसिंह ऐरीको ब्याटिङमा भने आज पनि सानदार रह्यो। उनले शतकीय इनिङ्स खेल्दै सर्वाधिक १०० रन बनाए।
ऐरीले यसअघिका दुई खेलमा पनि अर्धशतकीय इनिङ्स खेल्दै नेपालको ब्याटिङमा सबैभन्दा महत्वपूर्ण भूमिका खेलेका थिए। यसअघि पहिलो खेलमा उनले यूएईविरुद्ध ७५ र ओमनविरुद्ध ६० रन बनाएका थिए।
त्यस्तै, आरिफ शेखले ११ रन बनाउँदा गुल्सन झा अर्धशतक बनाउनबाट चुके। झा ३८ बलमा ४४ रन बनाएर छक्का हान्दै अर्धशतक बनाउने सुरुमा बाउन्ड्री नजिक क्याचआउट हुन पुगे।
बलिङमा यूएईका जुनैद सिद्धिकी र अजय कुमारले समान २ तथा हैदर अली र खुजैमा तन्वीरले समान १ विकेट लिए।
यूएई जवाफी ब्याटिङमा उत्रिँदैछ।
प्रतिक्रिया