+
Search

ताजा अपडेट +

पपुलर +

बढुवासम्बन्धी व्यवस्था खारेजी प्रस्तावप्रति कम्प्युटर अपरेटरको आपत्ति

फाइल तस्बिर
पालिका लाइभ
२०८३ बैशाख १८, शुक्रबार

काठमाडौं– संघीय निजामती सेवा विधेयक २०८३ मा कम्प्युटर अपरेटरको बढुवासम्बन्धी भइरहेको व्यवस्था खारेजी प्रस्तावप्रति कम्प्युटर अपरेटरले चिन्ता जनाएका छन् । पुरानै बढुवा व्यवस्था कायम राख्‍न सरकारसँग उनीहरूको माग छ ।

नेपाल प्रशासन सेवामा विगतदेखि नै बढुवा हुँदै आएका कम्प्युटर अपरेटरहरूको हक-अधिकार सुरक्षित गर्नुपर्ने मागसहित ध्यानाकर्षण पत्र पेश गरेका छन् । निजामती सेवा ऐन र नियमावली बमोजिम नेपाल प्रशासन सेवामा बढुवा हुँदै आएको उनीहरूले बताएका छन् ।

सर्वोच्च अदालतले ९ वर्षअघि कम्प्युटर अपरेटरहरूलाई कार्यसम्पादन र ज्येष्ठताको आधारमा नेपाल प्रशासन सेवाको राजपत्रांकित तृतीय श्रेणीको पदमा बढुवा गर्न सकिने आदेश गरेको कम्प्युटर अपरेटरहरूले बताएका छन् ।

लोक सेवा आयोगले पनि २०७१ सालमा उनीहरूको शैक्षिक योग्यता र सेवा संरचनालाई ध्यानमा राख्दै उनीहरूको माथिल्लो पद मानिएको कम्प्युटर अधिकृत पदको लागि चाहिने शैक्षिक योग्यतासँग तादम्यता नदेखिएको भन्दै प्रशासन सेवाभित्र समायोजन तथा बढुवाको सिफारिस गरेको थियो ।

सरकारले २०७५, २०७७, २०८० र २०८२ मा विभिन्न विधेयक तथा समितिका प्रतिवेदनमा पनि उक्त व्यवस्था निरन्तर समावेश गरिरहेकोमा हाल प्रस्तावित विधेयकमा यो व्यवस्था परिवर्तन हुन सक्ने देखिएपछि चिन्ता बढेको उनीहरूको भनाइ छ ।

ध्यानाकर्षण पत्रमा कम्प्युटर अपरेटरहरूलाई प्राविधिक कर्मचारीका रूपमा वर्गीकरण गर्नु उपयुक्त नहुने तर्क गरिएको छ ।

सामान्य शैक्षिक योग्यता (१०+२ र छोटो अवधिको कम्प्युटर तालिम) का आधारमा सेवा प्रवेश गरेका कर्मचारीहरूलाई उच्च प्राविधिक दक्षता आवश्यक पर्ने पदमा राख्नु व्यवहारिक नहुने उनीहरूले बताएका छन् ।

विधेयकको मस्यौदामा दफा १०(६) संशोधन गरी प्रशासन सेवाको अधिकृत सातौं तहसम्म बढुवाको अवसर सुनिश्चित गर्नुपर्ने उनीहरूको माग छ । त्यसैगरी, विधेयकको दफा १०(१२) मार्फत भविष्यमा यस्ता कर्मचारी भर्ना नगर्ने व्यवस्था गरिएकाले दीर्घकालीन समाधान सम्भव देखिए पनि हाल कार्यरत कर्मचारीको भविष्य भने अझै अनिश्चित बनेको कम्प्युटर अपरेटरले बताएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ