+
Search

ताजा अपडेट +

पपुलर +

उर्जामन्त्री भन्छन् – म झण्डा हल्लाउन मन्त्री भएको होइन, मलाई परिणाम चाहिन्छ

पालिका लाइभ
२०७६ श्रावण १६, बिहीबार

काठमाडौं– उर्जा, जलस्रोत तथा सिञ्चाईमन्त्री वर्षमान पुनले आफु झण्डा हल्लाउन मात्र मन्त्री नभएको भन्दै काम नगरे कसैलाई पनि जिम्मेवारीमा नराख्ने चेतावनी दिएका छन् ।

तेस्रो चौमासिक एवम् वार्षिक प्रगति समीक्षा एवम् मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा बिहिबार बोल्दै मन्त्री पुनले परिणाम आउने गरी काम नगरे कसैसँग पनि सम्झौता नगर्ने चेतावनी दिएका हुन् ।

‘काम नगर्ने हो भने पद ओगटेर मात्र वस्न कसैलाई पनि छुट छैन्, आयोजना प्रमुख दुई वर्ष बस्नुपर्छ भन्ने हुँदैन, सचिव र मन्त्री पनि पदमा टिक्नैपर्छ भन्ने छैन् ।’ मन्त्री पुनले कडा शव्दमा भने ।

सरकारले कार्यसम्पादन सम्झौताको सुरुवात गरेर नयाँ कार्यशैली अपनाएको बताएका छन् । उनले जनताको अपेक्षालाई पुरा गर्न आफु पनि अहोरात्र खट्ने भन्दै मातहतका निकायलाई परिणाम दिने गरी काम गर्न निर्देशन दिए ।

उनले प्रधानमन्त्री र सरकारको प्राथमिकता भनेको जनताको प्राथमिकता भएको भन्दै सरकारले अघि सारेको योजनालाई मन भित्रैबाट पुरा गर्न मातहतका निकायलाई निर्देशन दिए ।

‘अब प्रक्रिया मात्र भनेर हुँदैन्, तपाईहरुले तालिका बनाएर नै काम गर्नुपर्यो । सरकारले अघि सारेको कामलाई सफल पार्नु हामि सबैको दायित्व हो’ मन्त्री पुनले भने ।

नेकपाका नेता समेत रहेका मन्त्री पुनले अब काम नगर्ने कर्मचारीसँग आफुले कुनै पनि हालतमा सम्झौता नगर्ने प्रस्ट पारेका छन् । उनले हरेक महिना मन्त्रालयमा समिक्षा बैठक राखेर कामको प्रगति विवरण लिने घोषणा समेत गरे ।

‘चिनेका साथीभाई हुन् काम गरिहाल्छन् नी भनेर मैले भन्ने अवस्था छैन्, मलाई परिणाम चाहिएको छ । परिणाम नदिने हो भने मैले विकल्प खोज्नुपर्ने हुन्छ ।’ मन्त्री पुनले भने ।

मन्त्री पुनले अधिकृतभन्दा माथिका कर्मचारीलाई सचिव, मन्त्री वा विभागीय प्रमुखले मन पराए पनि नपराए पनि काम परिभाषित गरेर जिम्मेवारी दिन मातहतका उच्च अधिकारीलाई निर्देशन समेत दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ