+
Search

ताजा अपडेट +

पपुलर +

इच्छाकामनाका प्रमुख प्रशासकीय अधिकृतलाई कुटपिट गर्ने दुई जना पक्राउ

फाइल तस्बिर
पालिका लाइभ
२०८३ असार १९, शुक्रबार

चितवन– इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतमाथि गाउँपालिकाको कार्यालयमै प्रवेश गरी कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार बिहीबार बिहान करिब १०ः३० बजे ठेक्कापट्टासम्बन्धी विषयमा प्रमुख प्रशासकीय अधिकृत बस्नेतको कार्यकक्षमा छलफल भइरहेका बेला खगेडी खोलाको ठेक्का लिएका निर्माण व्यवसायी लालबहादुर तामाङ पक्षका व्यक्तिहरू कार्यकक्षमा प्रवेश गरी वादविवादपछि कुटपिट गरेका थिए। गाउँपालिकाका कर्मचारीका अनुसार आक्रमणमा करिब ६ जनाको समूह संलग्न थियो।

घटनापछि फरार रहेका व्यक्तिहरू प्रदेश ३–०१–०२३ च ८४६० नम्बरको स्कार्पियोमा भागेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गजुरी, धादिङले स्कार्पियोसहित चालक बाराको जितपुरसिमरा उपमहानगरपालिका–१८ निवासी ३७ वर्षीय वीरबहादुर मोक्तान र चितवनको भरतपुर महानगरपालिका–१८ निवासी २७ वर्षीय ईश्वर पाण्डेलाई पक्राउ गरेको छ। घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

चितवन प्रहरीका प्रवक्ता डीएसपी चन्द्रभूषण यादवका अनुसार केही व्यक्तिहरू कार्यकक्षभित्र प्रवेश गरी ढोका बन्द गरेर बस्नेतमाथि सामूहिक रूपमा हातपात गरेका थिए। कुटपिटबाट सामान्य घाइते भएका प्रमुख प्रशासकीय अधिकृत बस्नेतको इच्छाकामना आधारभूत अस्पतालमा उपचार गरिएको प्रहरीले जनाएको छ।

गाउँपालिकाका कर्मचारीका अनुसार खोलाबाट ढुंगा, गिट्टी तथा बालुवा उत्खननसम्बन्धी मुद्दामा जिल्ला अदालत चितवनले अघिल्लो दिन गाउँपालिकाको पक्षमा फैसला गरेपछि त्यसकै रिसमा आक्रमण भएको हुन सक्ने आशंका गरिएको छ। यद्यपि, प्रहरीले घटनाको कारणबारे अनुसन्धान जारी रहेको जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ