काठमाडौं- मुख्यसचिव सुमनराज अर्यालको अवकाश मिति नजिकिँदै गर्दा निजामती प्रशासनमा नयाँ मुख्यसचिव चयनको प्रतिस्पर्धा सुरु भएको छ। विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत सचिवहरू आगामी मुख्यसचिव बन्ने दौडमा देखिएका छन्।
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयकी सचिव प्रमिलादेवी शाक्य बज्राचार्य ५ वर्षे सचिव कार्यकाल पूरा गरी अनिवार्य अवकाशमा गएसँगै उनी मुख्यसचिवको प्रतिस्पर्धाबाट बाहिरिएकी छन्।
अब निर्वाचन आयोगका सचिव मधुसूदन बुर्लाकोटी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कृष्णहरि पुष्कर कर्ण पनि अवकाशको चरणमा छन्। बुर्लाकोटी असार २० गते र कर्ण असार २३ गते अनिवार्य अवकाशमा जानेछन्। त्यसपछि मुख्यसचिव अर्याल असार २५ गते ५८ वर्ष उमेर पूरा गरी अवकाश हुनेछन्।
अर्यालपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव किरणराज शर्मा मुख्यसचिवको प्रतिस्पर्धामा अगाडि देखिएका छन्। शर्मासँगै प्रधानमन्त्री कार्यालयकै जगेडामा रहेका सचिव हरिप्रसाद मैनाली र डिल्लीराम शर्मा, गृहसचिव राजकुमार श्रेष्ठ, राष्ट्रिय योजना आयोगका सचिव रविलाल पन्थ, लोक सेवा आयोगका सचिव रामेश्वर दंगाल र मुकुन्दप्रसाद निरौला पनि प्रतिस्पर्धामा छन्।
यी सचिवहरू २०६९ साल फागुनमा आन्तरिक प्रतिस्पर्धाबाट सहसचिव भएका हुन्। उनीहरूसँगै सहसचिव भएका रामप्रसाद घिमिरे भने उमेर हदका कारण यसअघि नै अवकाशमा गइसकेका छन्।
यता २०६७ सालमा सहसचिव भएका उद्योग सचिव कृष्णबहादुर राउत पनि मुख्यसचिवको दौडमा देखिएका छन्। सचिव बन्ने तालिम समयमै पूरा गरेको भए राउत यसअघि नै मुख्यसचिवको प्रतिस्पर्धामा आउन सक्ने अवस्था रहेको प्रशासन वृत्तमा चर्चा छ।
राउत रामेश्वर दंगाल र मुकुन्दप्रसाद निरौलाभन्दा अगाडि सचिव बनेका कारण वरिष्ठताका आधारमा समेत बलियो दाबेदारका रूपमा हेरिएका छन्। प्रस्तावित ३०-५५ वर्षसम्बन्धी कानुनी व्यवस्था लागू भएमा हालका धेरै सचिव अवकाशमा जाने र मुख्य प्रतिस्पर्धा सीमित सचिवबीच हुन सक्ने अवस्था देखिएको छ।
त्यस्तै, २०६९ सालको खुला तथा समावेशी प्रक्रियाबाट सहसचिव हुँदै सचिव बनेका अधिकारीहरू पनि मुख्यसचिवको प्रतिस्पर्धामा छन्। श्रम सचिव दिपक काफ्ले, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव नारायणप्रसाद शर्मा दुवाडी, महिला सचिव राधिका अर्याल, अर्थ सचिव घनश्याम उपाध्याय र वित्त आयोगका सचिव दिनेशकुमार घिमिरे पनि सम्भावित दाबेदार हुन्।
दिपक काफ्ले र राधिका अर्याल समावेशी व्यवस्थाअन्तर्गत सहसचिव हुँदै सचिव भएका हुन् भने नारायणप्रसाद, घनश्याम र दिनेशकुमार खुला प्रतिस्पर्धाबाट आएका हुन्।
किरणराज शर्मालगायत सचिवहरू २०६९ फागुन २४ गते आन्तरिक प्रतिस्पर्धाबाट सहसचिव भएका थिए भने दिपक, घनश्यामलगायत सचिवहरू २०६९ चैत ६ गते खुला तथा समावेशी प्रतिस्पर्धाबाट सहसचिव भएका थिए।
यसरी २०६९ सालका सहसचिवहरूको समूह मुख्यसचिवको प्रतिस्पर्धामा बलियो देखिँदा २०६७ सालका सहसचिव कृष्णबहादुर राउत पनि प्रमुख दाबेदारका रूपमा उभिएका छन्। आगामी मुख्यसचिव चयनमा वरिष्ठता, कार्यसम्पादन र सरकारको निर्णय महत्वपूर्ण हुने देखिएको छ।
प्रतिक्रिया