+
Search

ताजा अपडेट +

पपुलर +

प्रशासनिक संरचनामा व्यापक फेरबदल:

अवकाशको मुखमा मुख्यसचिवसहित २२ सचिव, प्रशासनिक नेतृत्वमा ठूलो फेरबदल हुने

मुख्यसचिव पदका लागि समेत नयाँ प्रतिस्पर्धा सुरु हुने र सचिवहरूको रिक्त हुने पदपूर्तिसँगै प्रशासनिक संरचनामा नयाँ अनुहारहरूको प्रवेश हुने अपेक्षा गरिएको छ।

पालिका लाइभ
२०८३ जेष्ठ २७, बुधबार

काठमाडौं– संघीय निजामती सेवामा आगामी केही महिनाभित्रै ठूलो प्रशासनिक फेरबदल हुने भएको छ।

सरकारले निजामती सेवामा ‘३०/५५’ व्यवस्था लागू नगरे पनि उमेर हद र पाँच वर्षे कार्यकालका कारण मुख्यसचिवसहित २२ सचिव अनिवार्य अवकाशमा जाने भएका छन्।

प्राप्त विवरणअनुसार असार महिनामै मुख्यसचिव सुमनराज अर्यालसहित ६ सचिव सेवाबाट बाहिरिने छन्।

असार १४ गते नेपाल ट्रष्टका सचिव चिरञ्जीवी चटौत, असार १६ गते विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयकी सचिव प्रमिलादेवी शाक्य, असार २० गते निर्वाचन आयोगका सचिव मधुसुदन बुर्लाकोटी र असार २३ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णहरि पुष्कर अवकाशमा जानेछन्।

त्यसपछि असार २५ गते मुख्यसचिव अर्याल र असार २७ गते सचिव खगेन्द्रप्रसाद नेपालको कार्यकाल समाप्त हुनेछ।

साउन महिनामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसँग सम्बन्धित चार सचिव अवकाशमा जाने सूचीमा छन्। साउन ३ गते किरणराज शर्मा, साउन ६ गते लोकनाथ पौड्याल, साउन १९ गते हरिप्रसाद मैनाली र साउन २४ गते गोविन्दप्रसाद शर्मा सेवाबाट बाहिरिनेछन्।

भदौमा प्रधानमन्त्री कार्यालयका जगेडामा रहेका सचिव डिल्लीराम शर्मा र बागमती प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारी अवकाशमा जानेछन्। त्यस्तै असोजमा पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, गृहसचिव राजकुमार श्रेष्ठ, जल तथा ऊर्जा आयोग सचिवालयका सचिव तथा राष्ट्रिय योजना आयोगका सचिव रविलाल पन्थको कार्यकाल सकिनेछ।

मंसिरमा कृषि, वन तथा वातावरण मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्र, पुसमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउत र राष्ट्रपति कार्यालयका सचिव महादेव पन्थ अवकाशमा जानेछन्। त्यसैगरी माघमा लोक सेवा आयोगका सचिव रामेश्वर दंगाल, फागुनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला तथा चैतमा राष्ट्रिय सतर्कता केन्द्रका सचिव दिनानाथ मिश्र सेवाबाट बाहिरिने तालिका रहेको छ।

एकै आर्थिक वर्षभित्र ठूलो संख्यामा सचिवहरू अवकाशमा जान लागेकाले संघीय प्रशासनको नेतृत्व तहमा व्यापक फेरबदल हुने देखिएको छ। मुख्यसचिव पदका लागि समेत नयाँ प्रतिस्पर्धा सुरु हुने र सचिवहरूको रिक्त हुने पदपूर्तिसँगै प्रशासनिक संरचनामा नयाँ अनुहारहरूको प्रवेश हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ