गोरखा- सहिद लखन गाउँपालिका–१, बक्राङमा रहेको महेन्द्र शक्ति माध्यमिक विद्यालयको ६५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विशेष समारोहका बीच भव्य रूपमा सम्पन्न भएको छ। वार्षिकोत्सवको अवसरमा विद्यालयका पूर्व विद्यार्थीहरूको पहलमा विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रत्नबहादुर आलेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाका शिक्षा अधिकृत राजेन्द्र खनाल प्रमुख अतिथि रहेका थिए। समारोहलाई सम्बोधन गर्दै खनालले विद्यालयको शैक्षिक विकासमा पूर्व विद्यार्थीहरूको योगदानको उच्च प्रशंसा गरे।
आफूलाई सबल बनाउने र जीवनको आधार तयार गरिदिने विद्यालयलाई सम्झेर गरिएको न्यानो कपडा वितरण कार्य अत्यन्तै पवित्र र अनुकरणीय रहेको उनले बताए। आगामी दिनमा पनि विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि यस्तै सहकार्य निरन्तर रहने विश्वास व्यक्त गर्दै उनले पुरस्कार विजेता विद्यार्थीहरूलाई बधाई तथा विद्यालयको प्रगतिका लागि शुभकामना दिए।
पूर्व विद्यार्थीहरूको तर्फबाट पुनर्मिलन कार्यक्रमकी पहलकर्ता मिना अर्यालले विद्यालय र गुरुहरूप्रति आफ्नो अगाध श्रद्धा व्यक्त गरिन्। २० वर्षपछि विद्यालयको आँगनमा पुनः फर्किँदा आफू भावुक भएको बताउँदै उनले भनिन्, ‘यही गेटबाट सपना बोकेर बाहिरिएका हामी आज आफ्नै बाल्यकालका साथीहरूसँग विद्यालयको माटोमा फर्किन पाउँदा अत्यन्तै खुसी छौँ।’
उनका अनुसार सामाजिक सञ्जालमार्फत एक महिनाको छोटो अवधिमै देश तथा विदेशमा रहेका साथीहरूलाई गोलबद्ध गरी पुनर्मिलन कार्यक्रम सफल भएको हो। ‘हामी आज जहाँ छौँ, त्यसको जग यही विद्यालय र हाम्रा गुरुहरूको मार्गदर्शन हो। उपस्थित हुन नसक्ने साथीहरूको भावनासमेत समेटेर भाइबहिनीहरूका लागि न्यानो कपडा उपहार ल्याएका हौँ,’ उनले भनिन्।
पूर्व विद्यार्थीहरूको सामूहिक प्रयासमा विद्यालयका ५० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो। यस कार्यमा ऋषि अर्याल, ज्ञानहरि अर्याल, अर्याल, सुनिल न्यौपाने, रवि अर्याल, दिनेश बानियाँ, सानु माया थापा, केशव थापा, हरिराम श्रेष्ठ, इश्वरी अर्याल, शान्ता पाण्डे, सुनिता अर्याल, सुमित्रा अर्याल, सुमित्रा अर्याल (अधिकारी), सपना संग्रौला, विनीता कोइराला, निर्मला पन्त, सरिता अर्याल, दिव्य अर्याल, सन्सरा थापा र सुनिता न्यौपानेलगायत २१ जना पूर्व विद्यार्थीहरूको योगदान रहेको छ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रकाश अर्यालले वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै पूर्व विद्यार्थीहरूको निस्वार्थ सहयोगप्रति आभार व्यक्त गरे। ‘विद्यालयप्रतिको माया, सद्भाव र स्नेहलाई मापन गर्ने कुनै तराजु हामीसँग छैन,’ उनले भने, ‘मन भए जुनसुकै काम सम्भव हुन्छ भन्ने उदाहरण पूर्व विद्यार्थीहरूले प्रस्तुत गर्नुभएको छ।’
वार्षिकोत्सवका अवसरमा पूर्व विद्यार्थी शान्ता पाण्डेले आफ्ना स्वर्गीय बुवा टीकाप्रसाद पाण्डेको स्मृतिमा विद्यालयलाई तातो–चिसो पानी आउने डिस्पेन्सर प्रदान गरिन् भने परतबहादुर थापाले स्टेशनरी सामग्री वितरण गरे। साथै, पूर्व शिक्षक बिरबल सिर्मल र जितबहादुर थापाको बिदाइ तथा सम्मान गरिएको थियो। विभिन्न अतिरिक्त क्रियाकलापका विजेताहरूलाई पुरस्कार वितरण गर्नुका साथै सांस्कृतिक कार्यक्रमहरू समेत प्रस्तुत गरिएको थियो।
पूर्व विद्यार्थीहरूको यो योगदानले विद्यालय र पूर्व विद्यार्थीबीचको सम्बन्धलाई थप सुदृढ बनाएको विद्यालय प्रशासनले जनाएको छ।
प्रतिक्रिया