काठमाडौं– चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो महिना अर्थात् साउनमा २० वाणिज्य बैंकले ८ अर्ब ३८ करोड रुपैयाँ खुद मुनाफा गरेका छन् ।
गत आवको यसै अवधिको तुलनामा बैंकहरुको खुद मुनाफा साढे ८ प्रतिशतले घटेको हो । गत आवको साउन महिनामा वाणिज्य बैंकहरुले ९ अर्ब १७ करोड रुपैयाँ खुद मुनाफा गरेका थिए।
राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार २० वटा वाणिज्य बैंकहरुमध्ये समीक्षा अवधिमा ११ वटा बैंकको मुनाफा घटेको छ भने ९ वटाको बढेको छ ।
साउनमा सबैभन्दा धेरै नाफा ग्लोबल आइएमई बैंकले कमाएको छ । बैंकले ७८ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । दोस्रो सूचीमा रहेको नबिल बैंकले ७१ करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । तेस्रो सूचीमा रहेको नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले पनि ६३ करोड ४२ लाख ३० हजार रुपैयाँ नाफा कमाएको छ ।
राष्ट्रिय वाणिज्य बैंकले ५५ करोड ८३ लाख, नेपाल बैंकले ५५ करोड २७ लाख, प्राइमले ५० करोड ४९ लाख, कुमारीले ४९ करोड २४ लाख, एभरेस्टले ४८ करोड ३९ लाख, एनएमबिले ४६ करोड ६७ लाख, हिमालयनले ४० करोड ८९ लाख र सिद्धार्थ बैंकले ४० करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।
गत साउनमा लक्ष्मी सनराइज बैंकले ३९ करोड ४४ लाख, सानिमाले ३९ करोड २ लाख, एनआइसी एशिया ३१ करोड ९३ लाख, प्रभुले ३० करोड २३ लाख, सिटिजनले २७ करोड २४ लाख, स्ट्याण्डर्ड चार्टर्डले २७ करोड १६ लाख, माछापुच्छ्रेले २६ करोड ५२ लाख, नेपाल एसबिआईले १५ करोड ८९ लाख र कृषि विकासले ३७ लाख ५० हजार रुपैयाँ नाफा कमाएका छन् ।
कृषि विकास बैंकको नाफा सबैभन्दा धेरै घटेको छ ।
गत आवको ७१ करोड २१ लाख रुपैयाँ खुद मुनाफा गरेको चालु आवको पहिलो महिना ३७ लाख ५० हजार रुपैयाँ मात्रै खुद मुनाफा गरेको छ । त्यसैगरी, गत वर्षको साउनमा ३३ करोड ३३ लाख रुपैयाँ रहेको एनएमबी बैंकको नाफा चालु आवको साउन महिनामा १५ करोड ८९ लाख रुपैयाँमा सीमित हुन पुगेको छ ।
कुन बैंकको नाफा कति ?
| बैंक | २०८२ साउन | २०८१ साउन | फरक % |
| नेपाल बैंक | ५५२.७२ | २२३.९९ | १४६.७६ |
| राष्ट्रिय वाणिज्य बैंक | ५५८.३ | ३६०.६७ | ५४.८ |
| नबिल बैंक | ७१६.४ | ८०३.३८ | -१०.८३ |
| एनआइएमबी बैंक | ६३४.२३ | ५७७.५६ | ९.८१ |
| स्ट्यान्डर्ड चार्टर्ड बैंक | २७१.६३ | ३११.५ | -१२.८ |
| हिमालयन बैंक | ४०८.९४ | ५८८.०५ | -३०.४६ |
| एसबिआई बैंक | १५८.९३ | ३३३.३१ | -५२.३२ |
| एभरेष्ट बैंक | ४८३.९ | ४२२.९६ | १४.४१ |
| एनआईसी एसिया बैंक | ३१९.३७ | २६६.३२ | १९.९२ |
| माछापुच्छ्रे बैंक | २६५.२३ | २०२.४९ | ३०.९८ |
| कुमारी बैंक | ४९२.४४ | ५०३.५३ | -२.२ |
| लक्ष्मी सनराइज बैंक | ३९४.४५ | ४३३.२६ | -८.९६ |
| सिद्धार्थ बैंक | ४०१.३५ | ३४८.८८ | १५.०४ |
| कृषि विकास बैंक | ३.७५ | ७१२.०८ | -९९.४७ |
| ग्लोबल आइएमई बैंक | ७८४.५४ | – | – |
| सिटिजन्स बैंक | २७२.४६ | ३४२.२७ | -२०.४ |
| प्राइम बैंक | ५०४.९६ | ५०५.५८ | -०.१२ |
| एनएमबि बैंक | ४६६.७७ | ४२७.२३ | ९.२५ |
| प्रभु बैंक | ३०२.३३ | ५३८ | -४३.८ |
| सानिमा बैंक | ३९०.२६ | ३८२.६८ | १.९८ |
| कुल | ८३८२.९६ | ८२८३.७४ | १.२ |
प्रतिक्रिया