+
Search

ताजा अपडेट +

पपुलर +

निजामती दिवसमा प्रधानमन्त्रीको सन्देश:

‘काम पन्छाउने प्रवृत्ति अब सह्य हुँदैन, नागरिकमैत्री सेवा दिन कर्मचारी सचेत हुनुपर्छ’

फाइल तस्बिर
पालिका लाइभ
२०८२ भाद्र २२, आईतवार

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सामान्य कामका लागि पनि धेरै प्रक्रिया देखाउने, नागरिकलाई झन्झटमा पार्ने र काम पन्छाउने प्रवृत्ति अब सह्य नहुने बताएका छन् । निजामती सेवाका कर्मचारीहरूले बदलिँदो विश्व परिवेश, प्रविधि र जनअपेक्षाअनुसार आफूलाई रूपान्तरण गर्नुपर्ने उनले प्रष्ट पारेका छन् ।

निजामती सेवा दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले निजामती सेवाको प्रभावकारितामा नै सरकारको सफलता टेकेको बताए । उनका अनुसार सरकारका नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्ने मुख्य जिम्मेवारी यही सेवामा रहन्छ, त्यसैले सेवाको पारदर्शिता, दक्षता र परिणाममुखी कार्यशैली अनिवार्य छ । ‘नागरिक सेवा खोज्दै होइन, सेवाले नागरिक खोज्ने बेला आएको छ, ‘उनले भने, ‘टेबल–कुर्सीमा मात्र सीमित नभई प्रविधि र अनलाइन प्रणालीमार्फत सेवा विस्तार गर्नुपर्छ।’

सन्देशमा पछिल्लो समय देखिएको आचरण, जिम्मेवारी र जबाफदेहिताबाट विचलनले नागरिकको विश्वास घटाएको उल्लेख गर्दै उनले यस्तो अवस्थाले राज्य–नागरिक सम्बन्धलाई कमजोर बनाउने चेतावनी दिए । सेवा सुविधा दिन नागरिकलाई दुःख दिने प्रवृत्ति तत्काल अन्त्य गर्नुपर्ने उनले जोड दिए । ‘सुशासन, पारदर्शिता, जबाफदेहिता र सेवाप्रतिको समर्पणमार्फत मात्र राज्यले नागरिकको विश्वास जित्न सक्छ,’ उनले भने ।

प्रधानमन्त्री ओलीले सरकारको उच्च प्राथमिकतामा रहेको निजामती विधेयक संसद्मा पारित हुने चरणमा रहेको जानकारी दिँदै यसले संघीयताको डेलिभरीलाई नयाँ उचाइ दिने बताए । उनले भने, ‘यो कानूनले कर्मचारी वर्गको उन्नयन मात्र होइन, प्रशासनिक संघीयतालाई मजबुत बनाउँदै मानव पुँजीको व्यवस्थापनमार्फत ठुलो फड्को दिलाउनेछ ।’

उनले निजामती सेवालाई आधुनिक र नागरिकमैत्री बनाउन डिजिटल रूपान्तरण, ई–गभर्नेन्स, तथ्यांकमा आधारित नीति निर्माण र सहज एवं पहुँचयोग्य अनलाइन सेवा प्रवाहलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याए । सरकारले नागरिक एपमार्फत सेवा एकीकृत गर्ने नीति लिएको स्मरण गर्दै उनले नागरिकले आफ्नै घरबाट सजिलै सेवा प्राप्त गर्ने वातावरण बन्ने बताए ।

शुभकामना सन्देशमा प्रधानमन्त्रीले उच्चस्तरीय सुशासन आयोग गठन, सर्भिस म्यापिङ, सार्वजनिक खर्चमा मितव्ययिता, कार्यालय तथा दरबन्दी कटौतीजस्ता काममार्फत सरकारले प्रशासनिक सुधारमा जोड दिएको पनि उल्लेख गरेका छन् ।

‘नागरिकले अब काम पन्छाउने होइन, परिणाममुखी, पारदर्शी र संवेदनशील कर्मचारीको अपेक्षा गरेका छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘यसका लागि सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरूले उच्च मनोबलसहित अग्रपंक्तिमा क्रियाशील हुनुपर्छ।’

उनले नयाँ पुस्ताको आकांक्षा, प्रविधिमा आधारित सेवा प्रवाह, अन्तर्राष्ट्रिय प्रतिस्पर्धा र दिगो आर्थिक–सामाजिक रूपान्तरणको यात्रामा निजामती सेवाको योगदान अझ सबल र गतिशील बन्नुपर्नेमा जोड दिए । व्यावसायिक, पारदर्शी, परिवर्तनशील र नागरिकमैत्री प्रशासन निर्माणमा सबै कर्मचारी जिम्मेवार बन्नुपर्ने उनको विश्वास छ ।

दिवसको अवसरमा सम्पूर्ण निजामती परिवारलाई सफलताको शुभकामना दिँदै प्रधानमन्त्री ओलीले भने, ‘समृद्ध नेपाल, सुखी नेपाली हाम्रो साझा राष्ट्रिय यात्रामा राष्ट्रसेवक कर्मचारीहरूको प्रतिबद्धता, सृजनशीलता र सेवाभाव अपरिहार्य छ ।’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ