काठमाडाैं– बागलुङ नगरपालिका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सञ्चालन गरेको स्थानीय शासन कार्यसम्पादन मूल्यांकन प्रणाली (एलजी–पास) मा उत्कृष्ट ठहरिएको छ।
मन्त्रालयको कार्यसम्पादन महाशाखा प्रमुख रेमलाल कँडेलकाअनुसार आर्थिक वर्ष २०८०/८१ को मूल्यांकनमा बागलुङले देशभरका नगरपालिकामध्ये उत्कृष्ट नतिजा हासिल गरेको हो।
यसअघि पनि बागलुङले विभिन्न मूल्यांकन प्रणालीमा राम्रो नतिजा हासिल गर्दै आएको थियो। स्थानीय तहको समग्र पक्षको मूल्यांकन गर्ने लिजा, वित्तीय सुशासन मजबुत बनाउने एफआरए तथा आर्थिक विकास प्रवर्द्धनमा सहयोग गर्ने एलइडी जस्ता प्रणालीमा समेत यो नगरपालिका अव्वल ठहरिएको थियो। चालु आर्थिक वर्षदेखि मन्त्रालयले यी तीनवटै प्रणालीलाई एउटै नाम ‘एलजी–पास’ अन्तर्गत एकरूपता दिएको छ। यस प्रणालीले स्थानीय तहको कार्यसम्पादनलाई व्यापक ढंगले हेर्ने गरेको छ।
कँडेलका अनुसार औपचारिक घोषणा भने यही भदौ ६ गते हुने छ। तर सूचकहरूका आधारमा तोकिएका काम समयमा सम्पन्न गर्ने, गरेका कामको अभिलेख प्रणालीमा अद्यावधिक गर्ने, वित्तीय र आर्थिक व्यवस्थापनलाई चुस्त बनाउने लगायतका पक्षमा बागलुङले देखाएको प्रतिबद्धता र सफलताले यसलाई उत्कृष्ट बनाएको छ।
मन्त्रालयले अब कार्यसम्पादन मूल्यांकनलाई पाँच मुख्य क्षेत्रमा विभाजन गरेको छ। ती क्षेत्रहरूमा सुशासन तथा संस्थागत विकास, सामाजिक विकास, आर्थिक विकास, पूर्वाधार विकास र वन, वातावरण तथा विपत् व्यवस्थापन पर्छन्। प्रत्येक क्षेत्रलाई अझ प्रस्ट पार्न दुई दर्जनभन्दा बढी उपशीर्षक तयार पारिएको छ र त्यही आधारमा नगरपालिकाहरूको कार्यसम्पादन मूल्यांकन गरिएको हो। तोकिएको समयमा तोकिएका काम सम्पन्न गरी प्रणालीमा प्रविष्टि नगरेसम्म अंक पाउन कठिन हुने भएकाले हरेक शाखाले समयमै जिम्मेवारी पूरा गर्नुपर्ने बाध्यता छ।
उनले यस वर्षको ‘स्थानीय शासन कार्यसम्पादन मूल्यांकन प्रणालीसम्बन्धी अभिमुखीकरण’ अभियान समेत बागलुङबाटै सुरु गरिएको बताए। यसलाई देशभरकै पहिलो प्रयासका रूपमा लिइएको छ, जसले बागलुङलाई थप विशेषता प्रदान गरेको छ।
नगरप्रमुख वसन्तकुमार श्रेष्ठले नगरपालिकाको उत्कृष्टतामा आएको परिणामलाई कर्मचारी, जनप्रतिनिधि र नागरिकबीचको सहकार्यको उपजका रूपमा व्याख्या गरे। उनले देखिने गरी पूर्वाधार विकास गर्ने, नागरिकले प्रत्यक्ष अनुभव गर्ने गरी सुशासनलाई प्रवर्द्धन गर्ने तथा सरसफाइलाई प्राथमिकतामा राख्ने लक्ष्य रहेको उल्लेख गरे। श्रेष्ठका अनुसार कर्मचारी र कार्यालयलाई ‘स्मार्ट’ बनाउँदै सेवा प्रवाहलाई सहज, छिटो र प्रभावकारी बनाउन नगरपालिकाले विशेष ध्यान दिएको छ।
उपप्रमुख राजु खड्काले नगरपालिकाले सामाजिक विकासलाई केन्द्रमा राखेर काम गरिरहेको बताए। उनले न्याय सम्पादनलाई चुस्त बनाउने, पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिने तथा नागरिकमैत्री सेवामा जोड दिइएको बताए। खड्काले सकेसम्म सामाजिक विकासका क्षेत्रमा प्रत्यक्ष देखिने काम गरेर नागरिकले महसुस गर्ने गरी योजना तर्जुमा र कार्यान्वयन भइरहेको उल्लेख गरे।
प्रतिक्रिया