गोरखा– अजिरकोट गाउँपालिका–५ मुच्चोकमा ‘झ्याल्ला–भच्चेक’ सडक उद्घाटन तथा पूर्व समिति र सरोकारवालालाई सम्मान गर्ने कार्यक्रम हुने भन्दै बिहानैदेखि माइकिङ गरिएको घटनाले स्थानीय स्तरमा तरंग सिर्जना गरेको छ। कार्यक्रम गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको विशेष आतिथ्यतामा हुने हल्लासमेत फैलाइएको थियो।
सडकसम्बन्धी कार्यक्रम भनेर सूचना पाएपछि वडा नम्बर ५ की वडासदस्य राजकुमारी देवकोटाले पनि सहभागी हुने तयारी गरेकी थिइन्। तर कार्यक्रम कांग्रेसको पार्टीगत आयोजनामा हुन लागेको जानकारी पाएपछि उनी पछि हटिन्। पछि गोरखा क्षेत्र नम्बर २ ‘ख’ का प्रदेशसभा सदस्य प्रकाशचन्द्र दवाडीको आतिथ्यतामा कार्यक्रम हुने जानकारी पाएपछि भने आन्तरिक कार्यक्रमका रूपमा केही समय उपस्थित भएको उनले बताइन्।
वडासदस्य देवकोटाका अनुसार प्रारम्भिक सूचनामा सडक उद्घाटन तथा सम्मान कार्यक्रम भनिएको थियो, जसका आधारमा उनी जाने तयारीमा थिइन्। तर पछि कार्यक्रमको स्वरूप पार्टी केन्द्रित रहेको थाहा पाएपछि सहभागी हुनु उपयुक्त नठानेको उनको भनाइ छ।
स्थानीयका अनुसार कार्यक्रममा झ्याल्ला–भच्चेक सडकका उपभोक्ता, केही नागरिक समाजका प्रतिनिधि तथा कांग्रेस सम्बद्ध कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। राष्ट्रिय झन्डासहित कार्यक्रम गरिएको र उपस्थित व्यक्तिहरूसँग हात मिलाएर सामूहिक तस्बिर खिच्ने क्रम चलेको बताइएको छ। कार्यक्रममा गण्डकी प्रदेशबाट विनियोजित ५० लाख रुपैयाँ बजेट कांग्रेसको पहलमा आएको दाबी गर्दै सडक छिट्टै ग्राभेल गरिने प्रतिबद्धता व्यक्त गरिएको थियो।
यसैक्रममा प्रेमकुमार सुनार, पोषप्रसाद अधिकारी, अंकित रम्तेल, रामजी देवकोटा, सुकबहादुर तामाङ, इन्दिरा देवकोटा, रामचन्द्र देवकोटा, जेम्स दवाडी, जीवनाथ दवाडीलगायतका व्यक्तिहरू नेकपा परित्याग गरी कांग्रेसमा प्रवेश गरेको दाबी सांसद दवाडीले सामाजिक सञ्जालमार्फत गरेका छन्। उनले फेसबुकमा लेख्दै अजिरकोट गाउँपालिका–५ अन्तर्गत झ्याल्लाफाँट, ओलाङ लगायत स्थानका दर्जनौँ युवाहरू पार्टीमा प्रवेश गरेको उल्लेख गरेका छन्।
तर कार्यक्रममा सहभागी केही युवाहरूले भने आफूहरूलाई सडकसम्बन्धी कार्यक्रम भनेर बोलाइएको र पछि सामाजिक सञ्जालमा पार्टी प्रवेश गरेको भन्दै प्रचार गरिएको दाबी गरेका छन्। लामा र रम्तेलले टेलिफोनमार्फत प्रतिक्रिया दिँदै आफूहरू कुनै पनि पार्टीमा प्रवेश नगरेको स्पष्ट पारेका छन्। उनीहरूको भनाइमा कार्यक्रमपछि मात्रै सामाजिक सञ्जालमार्फत आफूहरूलाई पार्टी प्रवेश गराइएको प्रचार भएको थाहा पाइएको हो।
उनीहरूले आफूहरूलाई विकाससम्बन्धी कार्यक्रममा सहभागी गराएर राजनीतिक रूपमा प्रयोग गरिएको आरोप लगाएका छन्। “हामी सडकको काम हुने भन्दै कार्यक्रममा गएका थियौँ। पछि सामाजिक सञ्जालमा पार्टी प्रवेश गरेको भन्दै प्रचार गरिएछ। यस्तो किन गरियो भन्नेमा हामी अचम्ममा परेका छौँ,” उनीहरूको भनाइ छ।
घटनापछि मुच्चोक क्षेत्रमा यस विषयले चर्चा पाएको छ।
स्थानीयहरूले विकासका विषयलाई पार्टीगत प्रचारसँग जोड्दा जनविश्वासमा असर पर्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। सहभागी युवाहरूले आफूहरू कुनै पनि पार्टीमा प्रवेश नगरेको दोहोर्याउँदै यस प्रकारको प्रचारप्रति असन्तुष्टि जनाएका छन्।
प्रतिक्रिया