+
Search

ताजा अपडेट +

पपुलर +

यो सरकार जनताको सरकार होइन, कार्यकर्ताको पार्टी कार्यालय जस्तो भयो- सांसद दवाडी

फाइल तस्बिर
पालिका लाइभ
२०७६ असार १२, बिहीबार

गोरखा– गोरखा क्षेत्र नम्बर २ (ख) का प्रदेशसभा सदस्य प्रकाशचन्द्र दवाडीले सरकारले जनउत्तरदायी ढंगले काम गर्न नसकेको आरोप लगाएका छन्। प्रदेशसभामा बजेटमाथिको छलफलमा भाग लिँदै उनले विकासको नाममा पुनः केन्द्रीकरणको प्रवृत्ति बढ्दै गएको टिप्पणी गरे।

सभालाई सम्बोधन गर्दै उनले संघीयता ल्याउनुको मूल उद्देश्य नै काठमाडौं केन्द्रित विकास अन्त्य गर्नु रहेको स्मरण गराए। ‘हिजो विकास जति काठमाडौंमा केन्द्रित थियो। सिंहदरबारले पिछडिएको र विकट भूगोललाई देखेन भनेर संघीयता ल्यायौँ। विराटनगर, जनकपुर, हेटौँडा, पोखरा, बुटवल, नेपालगन्ज, महेन्द्रनगर जस्ता सहरले काठमाडौंसँग अधिकार खोस्यो,’ उनले भने, ‘आज फेरि पोखरा पनि उही काठमाडौंको सिंहदरबारजस्तै एकलकाँटे र केन्द्रीकृत भइरहेको आभास हामीलाई भएको छ।’

उनले सरकारको गतिविधि र केन्द्रीकृत मानसिकता यथावत् रहे प्रदेशभित्रै अर्को संघीयताको माग उठ्न सक्ने चेतावनी दिए। संघीयता लागू हुँदा जनता उत्साहित रहेको उल्लेख गर्दै उनले तल्लो तहसम्म विकास विकेन्द्रीकरण हुने अपेक्षा विपरीत अवस्था देखिएको बताए। ‘विकट र पिछडिएको ठाउँ झन् विकट र अविकसित भइरहने हो भने यो संघीयताले कसलाई फाइदा पुग्यो? सम्मानित सभामा मेरो प्रश्न छ,’ उनले भने।

प्रदेश सरकारले प्रस्तुत गरेको तेस्रो बजेट तथा विनियोजन विधेयकमाथि टिप्पणी गर्दै उनले कार्यक्रमहरू कागजमा आकर्षक देखिए पनि व्यवहारमा विभेदपूर्ण ढंगले वितरण गरिएको आरोप लगाए। आफूहरूले सिफारिस गरेका योजनाभन्दा मन्त्रीको प्राथमिकताका आधारमा बजेट बाँडफाँट गरिएको उनको भनाइ थियो। ‘आफ्ना नजिकका ठाउँमा ठुलो बजेट र अरूको निर्वाचन क्षेत्रमा सानो बजेट– के यही हो समानुपातिक विकास?’ उनले प्रश्न गरे।

उनले आफ्नो निर्वाचन क्षेत्र सिरानचाेक गाउँपालिकाको उदाहरण दिँदै गत वर्ष ५० लाख बजेट विनियोजन भएको ग्याजी–रातोमाटे–खार्चोक भन्ज्याङ सडक अझै अधुरो रहेको उल्लेख गरे। कर्मागत योजनामा अन्यत्र बजेट निरन्तरता दिइए पनि उक्त सडकमा बजेट नपर्नु विभेदको संकेत भएको उनको दाबी थियो। ‘सरकारको नीति अपुरा योजना पूरा गर्ने हुनुपर्छ। यही एउटा सडक मात्रै किन झिकियो?’ उनले प्रश्न गरे।

सुलिकोटस्थित अँधेरीखोला हुँदै मालुङटार सिँचाइ आयोजना हटाइएकोप्रति पनि उनले आपत्ति जनाए। त्यस्तै बारपाक–सुलिकोट क्षेत्रमा पर्ने लुतुका–आहालगाउँ–दुम्सीका हुँदै राङरुङ जोड्ने सडक प्रस्तावित हुँदाहुँदै पनि बेवास्ता गरिएको बताए। नयाँ साँघु–सान्नानी भन्ज्याङ–गैरिगाउँ सडक र देउराली–अमले स्कूल हुँदै आहाल डाँडा–स्टुलखोला सडकजस्ता योजनालाई पनि प्राथमिकतामा नराखिएको उनको आरोप थियो।

मुग्लीन–पोखरा सडक तथा दुधपोखरी मार्गमा अपर्याप्त बजेट आएको उल्लेख गर्दै उनले बारपाकजस्तो पर्यटकीय क्षेत्रलाई अपेक्षित बजेट नदिइएको गुनासो गरे। ‘गाउँमा विकास जाओस् भन्नेमा हामी खुसी छौँ। तर हामीले ल्याएका योजना काटेर आफूखुसी भवन बनाउन बजेट दिने प्रवृत्ति कहाँको न्याय हो?’ उनले भने।

पालुङटारलाई स्मार्ट सिटी र लिचीको पकेट क्षेत्रका रूपमा विकास गर्न पटक–पटक आवाज उठाएको स्मरण गराउँदै उनले ती विषयलाई बेवास्ता गरिएको बताए। ‘हामी प्रतिपक्षमा छौँ, विरोधका लागि विरोध गर्ने होइनौँ। सरकारले गरेका राम्रा काममा हाम्रो साथ र समर्थन रहन्छ,’ उनले स्पष्ट पारे।

प्रदेशलाई समृद्ध बनाउने अभियानमा आफूहरू पनि उत्तिकै प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले सरकारलाई आत्मसमीक्षा गर्न आग्रह गरे। ‘हामी चाहन्छौँ सरकार पुतलीजस्तो उड्न सकोस्, तर सरकार लार्भाजस्तो लुकेर बसेको छ। शुभेच्छुकको नाताले मलाई चिन्ता लागेको छ,’ उनले सम्बोधनको अन्त्यमा भने।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ