नेपालको संविधान २०७२ नेपालको विद्यमान संविधान हो । यो नेपालको तत्कालीन ‘संविधान सभा’ले बनाएको हो । यो जनताका प्रतिनिधिले पारित गरेको पहिलो र नेपालको सातौं संविधान हो ।
संविधान सभाको दोश्रो निर्वाचनबाट निर्वाचित संविधान सभाले २०७२ साल भदौ ३० गते यो संविधान दुई-तिहाई भन्दा बढी मतले पारित गरेको हो । साथै नेपालकै इतिहासमा जनता माझ गएर मस्यौदा तयार गरिएको यो पहिलो र विश्वको सबैभन्दा पछिल्लो संविधान हो ।
नेपालको तराई क्षेत्रका केही जिल्लाहरूमा यस विरुद्ध आवाज उठाइए पनि यो संविधान नब्बे प्रतिशतभन्दा बढीको बहुमतमा राष्ट्रपतिबाट घोषणा गरिएको हो । यो संविधान २०७२ असोज १ गते संविधानसभाका बहुमत सदस्यहरूबाट हस्ताक्षर भएपछि सभाध्यक्ष बाट प्रमाणित गरिएको थियो ।
संविधान २०७२ असोज ३ गते गणतन्त्र नेपालका राष्ट्रपति रामवरण यादवले नेपालको संविधान २०७२ मा हस्ताक्षर गर्दै संविधान जारी भएको घोषणा गरी लागू गरिएको हो ।
यस संविधानमा ३५ भाग ३०८ वटा धारा र ९ वटा अनुसूचीहरू रहेका छन्। संविधानले नेपाललाई पहिलो पटक धर्म निरपेक्ष राष्ट्र घोषित गरेको छ । नेपालको संविधान, २०७२ को प्रारम्भिक मस्यौदामा लेखिएको `धर्मनिरपेक्ष´ भन्ने कुरा छ ।
वास्तवमा धर्म भनेको धारण गरिने आचार व्यवहार हो साथै अलौकिक शक्ति माथिको भावनात्मक विश्वास नै धर्म हो । यसले समाजलाई एकताबद्ध पार्न र सुसङ्गठित तुल्याउन मद्दत गर्दछ। यो समाजको शान्ति, सुव्यवस्था र कल्याणका लागि समाजले नै निर्माण गरेको आचार संहिता हो र संविधान जस्तै नियम हो।
कानुन, मर्यादा, नियम, उदात्त भावना, सदाचार, पवित्र काम, सेवा, नैतिक मूल्य, राम्रो काम, शास्त्रले निर्देश गरेको आचरण, नियम, न्याय, सत्य, मानव प्रकृति र प्रकृतिको स्वभावलाई पनि धर्म भनिन्छ। जाडो, गर्मी, वर्षा हुनु पनि धर्तीको धर्म हो।
प्रत्येक व्यक्तिमा रहेको विशिष्ट मानवीय प्रतिभा बाहिर ल्याउन अभिप्रेरित गर्ने आधार धर्म हो। कर्तव्य पालन धर्म हो। जिम्मेवारी संवहन धर्म हो। धर्मलाई मानवीय आदर्शको संरक्षक व्यवस्था भनिन्छ।
सङ्केत, विश्वास र संस्कारबाट बनेको यो त्यस्तो प्रणाली हो जसले समाजलाई एकताबद्ध पार्न र सुसङ्गठित तुल्याउन मद्दत गर्दछ। व्यवहार प्रमाणबाट सिद्ध हुने भएकोले यसलाई शास्त्र वा विज्ञान पनि भनिन्छ।
निरपेक्ष भनेको अपेक्षा नगर्नु, वास्ता नराख्नु, चासो नदिनु, सम्बन्ध नराख्नु, नचाहिनु र अनुपयोगी हुनु हो। यस शब्दले वास्ता नगरिएको ठाउँ, नचाहिएको सामग्री, काम नलाग्ने वस्तु, अर्थहीन ज्ञान, गलत उपाय, अनुशासनहीन आचरण, अस्वीकृत नीति भन्ने अर्थ पनि जनाउँछ। धर्म र निरपेक्ष शब्दलाई जोड्दा जे अर्थ निस्कन्छ धर्म निरपेक्षता भनेको त्यही हो।
धर्म नभएको त पशु पनि हुँदैन। समाजमा सुव्यवस्था नहुने हो भने मनपरी काटमार, लुछाचुँडी, हत्या, अपहरण, चोरी, डकैती, बलात्कार, अशान्ति, अविवेक, अन्याय, अत्याचार जस्ता दुष्कर्म फैलने डर हुन्छ। यस प्रकारका दुराचार हटाएर समाजलाई मान्छेका अनुकूलको बस्ने ठाउँ बनाउने काम धर्मले गर्दछ ।
विश्वमा कतिपय सम्प्रदायका कट्टर व्यवहारले समाजमा देखाएका आपत्तिजनक क्रियाकलापबाट प्रभावित भएर जर्मनीमा सन् १८४६ मा जर्ज ज्याकब होली ओकले राज्यको नीति र सुव्यवस्थामा धर्मका नाममा हुने अस्थिरताले प्रभाव पार्न नसकोस्, राज्यले यस प्रकारका व्यवहारमा दबाब नदेओस् र यस्तो विषय व्यक्तिगत स्वतन्त्रतासित सम्बद्ध होस् भन्ने उद्देश्यले सेकुलारिज्मको अवधारणा प्रस्तुत गरेका हुन्।
सेकुलारिज्म भन्नु र धर्म निरपेक्षता भन्नु भिन्न कुरा हो। सेकुलारिज्मको सही अर्थ धर्म निरपेक्षता होइन। धर्मनिरपेक्ष शब्द संविधान जस्तो आदर्श ग्रन्थमा राखिनु हुँदैन।
पेंगन, युनानी, ग्रिक, मय, मिस्र, आर्य जस्ता विश्वका प्राचीन सभ्यताका धरोहरहरू के कति कारणले समाप्त गरिएका थिए भन्ने घटनाका कुरा यस्तो स्थितिमा बिर्सन हुँदैन। यहाँ कसैप्रति आक्षेप वा असहमतिभन्दा पनि यथार्थ कुराको चर्चा गर्न लागिएको हो।
नेल्सन मन्डेलाले धर्म गुरु बनेर एउटा आग्रह बोकी हाम्रो देशमा प्रवेश गरेकाहरूले हामीसित भएका जग्गाजमिन, धनसम्पत्ति, राज्य शक्ति, सामर्थ्य, स्वाभिमान, आत्मनिर्भरताका स्रोत र साधन लगायतका यावत् सम्पदा हात पारी हाम्रो हातमा केवल साम्प्रदायिक दस्ताबेज थमाएर हामीलाई सम्पूर्ण दृष्टिले हरिकङ्गाल बनाए भनी जुन मार्मिक अभिव्यक्ति प्रकट गरेका थिए हामी त्यसले सिकाएको पाठप्रति उदासीन बन्दै आफू उभिएको धर्ती भत्काउनतिर लाग्दै छौँ।
धर्मनिरपेक्षता भनेको त्यस्तै परिणाम निम्त्याउने बाटो हुनसक्छ । यदि सदुपयोग गरेनौं वा व्यवहारमा परिवर्तन गरेनौं भने । अझै पनि धार्मिक एजेन्डाहरु उठ्ने गरेका वा आन्दोलन नै हुने गरेको देखिन्छ, सुनिन्छ । यो हाम्रो मानसिकतामा वा बुझाइमा परिवर्तन नहुनु हो ।
हामी क्षणिक रूपमा लाभ हुने कुराबाट हौसिएर आन्दोलन गर्दछौँ, क्रान्ति गर्दछौँ र परिवर्तन गर्दछौँ ।
त्यस प्रकारका अभियान समाप्त भएको केही समयपछि फुर्सद लिएर पछुतो गर्दछौँ किनभने हामी आफैँले गर्दै गरेका कामको परिणाम सोच्दैनौँ। कुनै समय कैलास नेपालमा पर्दथ्यो।
हामीले बडो उदार भएर त्यसलाई जसले लग्छ लगोस् भन्यौँ। आज हामीसित त्यस विषयको पीडादायी पश्चात्ताप मात्र बाँकी छ। यस्तै नहोस् फेरि पनि ।
प्रतिक्रिया