गोरखा- जिल्ला प्रहरी कार्यालय गोरखाले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ।
प्रहरीले गोरखा नगरपालिका–१३, चारकिलोका विश्व गिरीलाई विशेष सूचनाका आधारमा पक्राउ गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) महेन्द्र नेपालका अनुसार चारकिलो क्षेत्रमा केही समयदेखि एक व्यक्ति शंकास्पद अवस्थामा बसिरहेको भन्ने सूचनापछि प्रहरीले निगरानी तथा खोजतलास गरेको थियो।
प्रहरीले सडक छेउमा शंकास्पद अवस्थामा बसेका गिरीको शरीर खानतलासी गर्दा लागुऔषध बरामद गरेको जनाएको छ।
डीएसपी नेपालका अनुसार गिरीको साथबाट डाइजेपाम ४२ एम्पुल, फेनारगन ४५ एम्पुल र नुफिन ४९ एम्पुल बरामद गरिएको छ।
प्रहरीले गिरीविरुद्ध लागुऔषध सम्बन्धी मुद्दा दर्ता गरी जिल्ला अदालत गोरखाबाट म्याद थप अनुमति लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिक्रिया