+
Search

ताजा अपडेट +

पपुलर +

अनियमितता मुद्दामा भेरीगंगाका प्रमुख प्रशासकीय अधिकृतसहित १३ जनालाई सफाइ

पालिका लाइभ
२०८१ कार्तिक २५, आईतवार

काठमाडौं– सुर्खेतको भेरीगंगा नगरपालिकामा अनियमितता आरोपमा मुछिएका प्रमुख प्रशासकीय अधिकृतसहित १३ जनालाई विशेष अदालतले सफाइ दिएको छ।

आइतबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू रामबहादुर थापा तथा मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले उनीहरूलाई सफाइको निर्णय सुनाएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष ०७६/७७ मा भेरी नदी र गोछेखोलामा नदीजन्य पदार्थको उत्खनन्, संकलन र बिक्री वितरणमा अनियमितता भएको दाबी गर्दै यही १३ जेठमा मुद्दा दायर गरेको थियो।

अनियमितताको आरोपमा प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पौडेल, लेखा अधिकृत मानबहादुर ठाडा र इन्जिनियर विजयकुमार खत्रीसहित अन्य १० जना कर्मचारी तथा ठेकेदारहरूलाई प्रतिवादी बनाइएको थियो।

अख्तियारको अभियोग पत्रमा ठेक्का प्रक्रियामा बदनियतपूर्ण मिलेमतो गरी कबोल मूल्य घटाउने, सम्झौता नगर्ने फर्महरूलाई कालोसूचीमा नराख्ने, र खरिद प्रक्रियामा तोकिएको ऐन तथा नियमावलीको अल्लंघन गरेको आरोप थियो। यसबाट सरकारलाई ३६ लाख ७८ हजार रुपैयाँभन्दा बढीको नोक्सान भएको बताइएको थियो।

विशेष अदालतले भने अख्तियारका तर्फबाट प्रस्तुत प्रमाण र दाबी पर्याप्त नभएको ठहर गर्दै सबै प्रतिवादीलाई सफाइ दिने निर्णय गरेको हो।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ