+
Search

ताजा अपडेट +

पपुलर +

मेयर पटेलको संलग्नता र प्रहरीको सहयोगमा बागमती नदीमा व्यापक उत्खनन

पालिका लाइभ
२०८१ जेष्ठ २४, बिहीबार

रौतहट– वृन्दावन नगरपालिकाका मेयर विनोदप्रसाद कुर्मीको इशारामा बागमती नदीमा व्यापक रूपमा गैर कानुनी तरिकाले उत्खनन भइरहेको छ। तर, जिल्ला समन्वय समितिसँगै नियमनकारी निकायहरू मौन बसेका छन्।

वृन्दावनस्थित बागमती नदीबाट नदीजन्य पदार्थ निकाल्ने विषयमा दुई पक्षबिच उत्पन्न विवादको कारण अवस्था तनावग्रस्त बनेको छ। मेयर कुर्मी पक्षले नदीजन्य पदार्थ उठाउने र पूर्वमेयर रामस्नेही यादव पक्षले उठाउन नदिने पक्षमा अडान लिएको कारण विवाद हुँदा अवस्था तनावग्रस्त बनेको थियो।

इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ओमप्रकाश खनालको नेतृत्वमा सोमबार राति गएको टोलीले दुवै पक्षलाई सम्झाई-बुझाई अवस्था साम्य पारेको थियो।

दुवै पक्षबाट जम्मा भएका सयौँ मानिस पटक-पटक घम्साघम्सी गर्न थालेपछि अवस्था नियन्त्रणमा लिन निकै कठिनाइ भएको थियो। तर, जसोतसो सम्झाएर पठाएपछि कुनै अप्रिय घटना हुन नपाएकाे डिएसपी खनाल बताउँछन्।

मेयर पटेलले बागमती नदीको टेन्डर आह्वान नगरी वृन्दावन नगरपालिका-१ बलेनीस्थित बागमती नदीबाट अमानतमा आफ्ना मानिसमार्फत नदीजन्य वस्तु निकाल्न थालेपछि विवाद उत्पन्न भएको थियो।

मेयर कुर्मीले आर्थिक लाभको लागि आफ्नै नजिकका मानिस तथा आफन्तलाई अमानतमा बागमती नदीको ठेक्का दिएर गैर कानुनी रूपमा नदीजन्य पदार्थ निकाल्न थालेको पूर्वमेयर रामस्नेही यादवले दाबी गर्दै आएका छन्।

गत आइतबारदेखि नदीजन्य पदार्थ निकाल्न सुरु गरेपछि ठुलो संख्यामा गाउँलेहरू नदीमै पुगेर केही समय रोक लगाएका थिए। लगत्तै मेयर कुर्मीले प्रहरीको सहयोगमा बागमतीमा पुनः उत्खनन सुरु गरेको पूर्वमेयर यादवले आरोप लगाएका छन्।

नियमविपरीत पालिकाले बागमतीमा एक्स्काभेटर प्रयोग गरेर टिपरबाट नदीजन्य वस्तु निकाल्न थालेको पूर्वमेयर यादवको भनाइ छ। तर, गैर कानुनी रूपमा उत्खनन भइरहेको आरोप लागे पनि प्रहरीसमेतले मेयर पटेललाई सहयोग गरिरहेको छ।

बागमती नदी उत्खनन नगर्न गाउँलेले पटक–पटक गरेको आग्रह विपरीत मेयर पटेलले प्रहरी परिचालन गराएर नदीजन्य पदार्थ निकाल्ने गरेको वृन्दावन नगरपालिका-१ का पूर्व वडाध्यक्ष सुबोध पटेलले गुनासो गरेका छन्। मेयर कुर्मीले सोमबार साँझ पिकनिकको निहुँमा ठुलो संख्यामा मानिस जम्मा गरेर नदी उत्खनन गराइरहेको गाउँलेहरूले बताएका छन्।

जेठ महिनाको अन्तिम साता नदी उत्खनन बन्द गर्ने समयमा मेयर कुर्मीले उत्खनन गराइरहेको आरोप लागेको छ। अनियन्त्रित रूपमा बागमती नदीमा भइरहेको उत्खननले रमौली, हरैया, समनपुरलगायत आधा दर्जन गाउँहरू जोखिममा पर्ने ठुलो खतरा रहेको गाउँलेहरूले बताएका छन्।

मेयर पटेल भन्ने सम्पर्कमा आउन चाहेनन्। उता जिल्ला समन्वय समिति रौतहटका सभापति राम अयोध्या यादवले निरीहतासँगै अनभिज्ञता प्रकट गरेका छन्। ‘गैर कानुनी रूपमा उत्खनन गर्नु हुँदैन, कारबाही गर्न हामीसँग स्रोतसाधन छैन’ भन्दै सभापति यादवले ‘के साँच्चै बागमती नदीमा अवैध उत्खनन भइरहेको हो त?’ भन्दै उल्टै प्रश्न गरे।

पछिल्लो समय समन्वय समितिसँगै नियमनकारी निकायको मौनताको कारण बागमती, लालबकैया, चाँदी लगायतको नदीबाट व्यापक रूपमा नदीजन्य पदार्थको दोहन भएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ