काठमाडौं- विश्व वातावरण दिवसको अवसरमा टोखा नगरपालिकाले पालुङटार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा उपसचिव शेरबहादुर बिसीलाई विशेष सम्मान गरेको छ।
टोखामा करिब ३० महिनाको कार्यकालका दौरान उनले नेतृत्व गरेको नदी संरक्षण तथा सरसफाइ अभियानले १०० हप्ता पूरा गरेको अवसरमा आयोजित विशेष समारोहमा बिसीलाई सम्मान गरिएको हो।
उक्त अभियान उनले टोखा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत रहँदा प्रारम्भ गरेका थिए।
सम्मान ग्रहण गर्दै उपसचिव बिसीले प्राप्त सम्मानलाई व्यक्तिगत उपलब्धिभन्दा सामूहिक प्रयासको प्रतिफलका रूपमा व्याख्या गरे। उनले भने, ‘यो सम्मान मेरो मात्र नभई सम्पूर्ण टोली र टोखा नगरवासीको साझा मेहनतको परिणाम हो। यसले मलाई अझ बढी जिम्मेवार र प्रतिबद्ध भएर काम गर्न प्रेरित गरेको छ।’
उनले नदी तथा सरसफाइ अभियानको निरन्तरतामा जोड दिँदै जनसहभागितामूलक अभियानहरू नै वातावरण संरक्षणका लागि प्रभावकारी माध्यम हुने बताए। ‘टोखामा सुरु गरिएको यो अभियान जनसहभागितामा आधारित सफल अभ्यास हो। यसको निरन्तरता कायम रहन सके मात्रै वातावरणीय सुधार दिगो बन्न सक्छ,’ उनले उल्लेख गरे।
कार्यक्रमका क्रममा टोखाका र पालुङटारवीच भगिनी सम्बन्ध स्थापना गर्ने विषयमा समेत छलफल भएको थियो। दुवै स्थानीय तहबीच आपसी सहकार्य, अनुभव आदान–प्रदान तथा विकास साझेदारी विस्तार गर्ने विषयमा प्रारम्भिक सहमति बनेको बताइएको छ।
यस अवसरमा उपसचिव बिसीले सम्पूर्ण टोखा नगरवासीलाई पालुङटारको भ्रमणका लागि औपचारिक निमन्त्रणा समेत दिएका छन्।
टोखाका नगर प्रमुख प्रकाश अधिकारीले बिसीको योगदानको प्रशंसा गर्दै नदी तथा सरसफाइ अभियानलाई टोखाको ऐतिहासिक उपलब्धिका रूपमा उल्लेख गरे। उनले भने, ‘शेरबहादुर बिसीको कार्यकालमा सुरु भएको नदी तथा सरसफाइ अभियानले नगरको वातावरणीय व्यवस्थापनमा दीर्घकालीन सकारात्मक प्रभाव पारेको छ। उहाँको नेतृत्व र दूरदृष्टिले अभियानलाई सफल बनाएको हो।’
कार्यक्रममा पालुङटारका नगर प्रमुख बिवस चिन्तनद्वारा पठाइएको औपचारिक पत्र उपसचिव बिसीले टोखाका नगरप्रमुख अधिकारीलाई हस्तान्तरण गरेका थिए।
विश्व वातावरण दिवसको सन्दर्भमा आयोजित उक्त कार्यक्रमले स्थानीय तहहरूबीच वातावरण संरक्षण, सरसफाइ प्रवर्द्धन तथा विकास सहकार्यलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया