+
Search

ताजा अपडेट +

पपुलर +

प्रधानमन्त्रीले भने– ढुक्क हुनुस्, सुकुमवासीलाई चाँडै जग्गा वितरण गर्छौं

पालिका लाइभ
२०८३ बैशाख ११, शुक्रबार

काठमाडौं– प्रधानमन्त्री बालेन शाहले वास्तविक सुकुमवासी बस्तीका समस्या आफू नेतृत्वको सरकारले नै समाधान गर्ने भन्दै ढुक्क रहन आश्वासन दिएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले एक स्टाटस लेख्दै वास्तविक सुकुमवासीलाई चाँडो जग्गा वितरण गर्ने पनि बताएका छन् ।

‘देशभरका वास्तविक सुकुम्बासीका लागि प्रक्रिया पुर्‍याएर यथाशक्य चाँडो जग्गा वितरण गर्नेछौं,’ बालेनले भनेका छन्, ‘वर्षौं पुरानो यो समस्याको स्थायी समाधान यो सरकारले गर्नेछ । ढुक्क हुनुहोस् ।’

साथै, उनले वर्षाको बेलामा हुनसक्ने दुर्घटना आउनुअघि नै सचेत हुनका लागि यो काम भएको बताएका छन् ।

‘अब पनि कुनै ठुलो दुर्घटना कुन दिन आउँछ भनेर कुर्दै बस्ने हो र हामी ? उहाँहरूको जीवनसँग खेलबाड गर्दै त्यही हालमा छोडेर अधिकार र भोटको राजनीति यसरी नै सधैं गरिरहने ?,’ बालेनले प्रश्न गरेका छन् ।

साथै, उनले सुकुमवासीहरूलाई उचित ठाउँमा व्यवस्थापन गर्नुपर्ने बताए ।

‘उहाँहरूलाई उचित ठाउँमा व्यवस्थापन गर्नु उपयुक्त हुन्छ कि जसरी वर्षौंदेखि झुलाइयो, त्यसै गरी अबका वर्षहरूमा पनि झुलाइराख्नू ?,’ बालेनले प्रश्न गरेका छन्, ‘नागरिकका रूपमा उहाँहरूले पाउने अधिकार त्यही अव्यवस्थित र डुबानको जोखिम भएको ठाउँमा बसिरहनु हो कि त्योभन्दा सुरक्षित ठाउँमा जानु हो ? पक्कै पनि जोखिमरहित व्यवस्थापन उहाँहरूको अधिकार हो ।’

सरकारले काठमाडौंका विभिन्न सुकुमवासी बस्ती खाली गराउँदैछ । भोलिबाट खाली गराउन तयारी अघि बढिरहँदा यसबारे विभिन्न प्रश्न पनि उठेका छन् ।

उता, सुकुमवासीहरू प्रदर्शनमा उत्रिएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ