+
Search

ताजा अपडेट +

पपुलर +

कविता : म हत्यारा हुँ

बि एस् पृथक (विमल)
२०८२ चैत्र ९, सोमबार

म हत्यारा हुँ
आज मैले हत्या गरेको छु
आफै हत्या गरेर
कुनै संकोच नमानी
आफैले घाटसम्म पुर्‍याए
चितामा राखे
र आफैले दागबत्ती दिए
चिता जलिरह्यो
खरानी नहुन्जेल
एक टकले हेरिरहे
हेरिरहे

मेरो त्यो हेराइलाई
आँखाबाट बग्ने
पानीका थोपाहरूले छेक्न खोजे
तर मैले आँखाको डिलबाट खस्ने
अनुमति दिइन
सायद अरूले हत्या गरेको भए
म भक्कानिँदै
भावविह्वल अवस्थामा हुन्थे होला
तर आफैले हत्या गरेकाले
मसँग रुने बहाना नै थिएन
हुन त मन ढुंगाको बनाएर नै
मैले हत्या गर्न सकेको हुँ
अनि यो ढुंगाको मन
कोही चितामा जल्दै गर्दा
किन रुन्थ्यो र

भर्खरै अन्तिम संस्कार गरेर फर्किए
एक किसिमको थकान
एक्लोपन
पश्चात्ताप गरौँ कि के गरौँ
सोचिरहे
सोचिरहे
र झल्यास भए
म त हत्यारा पो हुँ

मैले किन हत्या गरे
आफ्नो चाहानाको
इच्छाको, सपनाको
हाँसो र खुसीको
अनि आफ्नै जिन्दगीको
मैले यिनीहरूलाई मारेर
के पाउन खोजिरहेछु
अन्योलमा छु
मैले के रोजिरहेछु
हुन त यी सबै मार्नु भनेको
म पनि त मर्नु नै हो
अब म हत्यारा सँगै
जिउँदो लास पनि भएको छु

आफ्ना सबै इच्छा चाहानाहरू मारेर
जिउँदो लास बनेर
कसका लागि बाच्न खोजिरहेछु म
सायद बुझ्दै छु
यो जिन्दगी
आफ्नो लागि हैन
अरूको लागि बाचिदिन पर्ने रहेछ
त्यो पनि
जिउँदो लास बनेर

सायद अब कैले मेटिने छैन
यो दाग
म हत्यारा हुँ

प्रतिक्रिया

लेखकको बारेमा

बि एस् पृथक (विमल)