काठमाडाैं– साहित्यकार शोभाराम ओलीद्वारा लिखित उपन्यास ‘अटेलिस जोई’ को लोकार्पण तथा विमोचन कार्यक्रम सम्पन्न भएको छ।
नवोदित साहित्यिक वाचनालय कतारले आफ्नो सत्रौँ अधिवेशन, नवोदित कृति अवार्ड वितरण तथा अनेसास नवोदितको १६०औँ वाचन डबली कार्यक्रम शुक्रवार कतारको गोरखाली रेस्टुरेन्टको सभा हलमा सम्पन्न गरेको हो।
कार्यक्रम नवोदित वाचनालय कतारका अध्यक्ष सन्दीप थपलियाको अध्यक्षता र एनआरएनए एनसीसी कतारका अध्यक्ष रमेश भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा ओलीद्वारा लिखित छैटौँ उपन्यास ‘अटेलिस जोई’ को लोकार्पण तथा विमोचन गरिएको हो।
शोभाराम ओली रोल्पा जिल्लाको साबिक परिवर्तन गाउँपालिका–२ का बासिन्दा हुन्। रोजगारीका लागि कतार पुगेका ओलीले आईए तहसम्मको अध्ययन गरेका छन्। उनले यसअघि ‘अधुरो जीवन’ (उपन्यास, २०६२), ‘परदेशमा व्यथित मन’ (गजल संग्रह, २०७४), ‘परदेशी सपना’ (मुक्तक संग्रह, २०७५), ‘अथाह’ (बाछिटा संग्रह, २०७९) र ‘सुलभ’ (उपन्यास, २०८०) प्रकाशित गरिसकेका छन्।
उपन्यास लेखनका बारेमा उनले आफू कतारमा रहँदा वरिपरि देखेका प्रेमकथाहरूलाई शब्दमा उनेर परदेशमा प्रेममा परेकाहरूको जीवनमा आधारित कथा तयार गरेको बताए।
उपन्यास ‘अटेलिस जोई’ को समीक्षा तथा समालोचना साहित्यकार सिताराम थापा र खेमराज सुवेदीले गरेका थिए।
समीक्षकहरूका अनुसार पुस्तक नेपाली परदेशीहरूको जीवनशैलीसँग गहिरो रूपमा मेल खाने, पठनीय र समसामयिक विषयवस्तुमा आधारित रहेको छ।
समीक्षक थापाले कथा लेख्न कथावस्तु खोज्दै टाढा जानु नपर्ने, वरपरकै यथार्थ जीवनका अनुभवलाई समेट्न सकेमा उत्कृष्ट कृति तयार गर्न सकिने बताएका थिए।
प्रतिक्रिया