+
Search

ताजा अपडेट +

पपुलर +

चुनाव हारेपछि गगनले भने- सभापतिबाट राजीनामा दिन्छु

पालिका लाइभ
२०८२ फाल्गुन २५, सोमबार

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले चुनावमा पार्टीको पराजयको जिम्मा लिँदै राजीनामा दिने मनस्थिति बनाएका छन्। सोमबार साँझ नयाँ बानेश्वरमा उपसभापति विश्वप्रकाश शर्मासँगको भेटमा सभापतिले राजीनामाबारे जानकारी दिएका हुन्।

सभापति थापाले उपसभापति शर्मालाई भनेका थिए कि ‘चुनावमा पार्टीको पराजयको जिम्मेवारी लिएर मैले पद त्याग गर्नु उचित हुन्छ। म राजीनामा दिन्छु।’ स्रोतका अनुसार सभापतिले यो निर्णय व्यक्तिगत जिम्मेवारीको भावनासँग जोडेर व्यक्त गरेका हुन्।

तर उपसभापति विश्वप्रकाश शर्माले सभापति थापाले तत्काल राजीनामा दिने निर्णयले पार्टीको अवस्था झनै अप्ठ्यारो बन्न सक्ने र यसलाई व्यापक समीक्षा र रणनीतिक विचारबिना अघि बढाउन नहुने सुझाएका छन्।

उनले भने, ‘रास्वपाको जितभन्दा बढी हाम्रो पराजय हो, तर यसको दोषी केवल एक व्यक्ति होइन, न त विशेष महाधिवेशनबाट आएको कार्यसमिति मात्रै हो। नयाँ कार्यसमिति बनेको पाँच दिनमै उम्मेदवारी दर्ता भयो र ५०औँ दिनमै चुनाव सम्पन्न भयो। त्यसैले परिस्थितिको समग्र र सूक्ष्म समीक्षा गरेर अघि बढ्नुपर्छ। सभापतिले राजीनामा दिएर पार्टीलाई झनै अप्ठ्यारो अवस्थामा पुर्‍याउनु हुँदैन।’

उपसभापति शर्माले पनि सभापतिले राजीनामाबारे स्पष्ट रूपमा कुरा गरेको पुष्टि गरेका छन्। उनले भने, ‘सभापतिले ‘राजीनामा दिन्छु’ भन्नुभएको छ। यही विषयमा छलफल भइरहेको छ।’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ