काठमाडौ– धरानका प्रमुख राजनीतिक दलहरूले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापन पत्र बुझाएका छन्।
नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीका प्रतिनिधिहरूले संयुक्त रूपमा ‘प्रचण्ड’लाई ज्ञापन पत्र बुझाएका हुन् ।
ज्ञापन पत्र मार्फत बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ‘छाता ऐन’ बाट अलग गरी पृथक् चिकित्सा विज्ञान विश्वविद्यालयको रूपमा विकास गर्न पहल गर्न माग गरेका छन् ।
ज्ञापन पत्र बुझ्दै अध्यक्ष ‘प्रचण्ड’ले आफूले सरकारमा हुँदा धेरै विश्वविद्यालयहरू स्थापना गर्ने र अगाडि बढाउने काम गरेको स्मरण गरेका छन् ।
उनले भने, ‘सुदूरपश्चिममा गेटालाई यस्तै यस्तै अरू पनि । धरानस्थित बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुरानो र नेपालको पूर्वी क्षेत्रको एक अत्यन्त महत्वपूर्ण संस्था हो। तर, यसलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न नसक्नु दुर्भाग्यपूर्ण विषय हो ।’
पदाधिकारी नियुक्तिमा देखिएको अन्योल र कार्यक्षमता अभाव दुःखद पक्ष रहेको भन्दै अब यस संस्थामा संरचनागत तथा नीतिगत सुधार गर्दै अगाडि बढ्नुपर्ने बताए ।
उनले थपे, ‘तपाईँहरू समाधानको विकल्प लिएर आउनु भएको छ, यो सकारात्मक कुरा हो । तपाईँहरूको यस मागमा म पूर्ण रूपमा साथ रहन्छ ।’
प्रतिक्रिया