+
Search

ताजा अपडेट +

पपुलर +

तिब्बत तर्फबाट विनाशकारी बाढी :

रसुवा बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय

गोसाइँकुण्डमा उपाध्यक्ष र वडाध्यक्ष सम्पर्कविहीन

पालिका लाइभ
२०८३ भाद्र १०, बुधबार

काठमाडौं– भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावित स्थानीय तहलाई सरकारले तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले बाढीबाट भएको जनधनको क्षतिको समीक्षा गर्दै उद्धार, राहत, उपचार तथा अवरुद्ध पूर्वाधार तत्काल सञ्चालन गर्ने निर्णयसमेत गरेको छ।

सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार विपद्बाट प्रभावित जिल्लाका स्थानीय तहलाई विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ बमोजिम तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गरिएको हो।

बैठकले रसुवागढी र तल्लो तटीय क्षेत्रमा भोटेकोशी नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ।

सरकारले बाढीमा घाइते भएकाहरूको तत्काल निःशुल्क उपचारको व्यवस्था गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, नेपाली सेना र सरकारी अस्पताललाई जिम्मेवारी दिएको छ। घाइते तथा बिचल्लीमा परेकाहरूको उद्धार गरी सुरक्षित स्थानमा सार्न गृह र रक्षा मन्त्रालयलाई निर्देशन दिइएको छ।

उद्धारका लागि नेपाली सेनासहित निजी क्षेत्रका हेलिकोप्टर परिचालन गर्न र आवश्यक सबै साधन प्रयोग गर्न गृहमन्त्रीलाई निर्देशन दिइएको छ। घर तथा निवास गुमाएकाहरूलाई सुरक्षित स्थानमा सारेर खाने–बस्ने व्यवस्था मिलाउन गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सम्बन्धित विपद् व्यवस्थापन समितिलाई जिम्मेवारी दिइएको छ।

त्यस्तै, बाढीका कारण अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउन तथा खानेपानीको व्यवस्था गर्न पूर्वाधार विकास मन्त्रालयलाई, विद्युत् आपूर्ति पुनः सञ्चालन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणलाई तथा अवरुद्ध दूरसञ्चार सेवा सञ्चालन गर्न सूचना तथा सञ्चार मन्त्रालयलाई निर्देशन दिइएको छ।

बाढीबाट मृत्यु भएकाका परिवारलाई प्रचलित कानुनअनुसार आर्थिक सहायता तत्काल उपलब्ध गराउने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ। क्षतिग्रस्त सार्वजनिक संरचना तथा भौतिक पूर्वाधार सञ्चालन र पुनर्निर्माणका लागि आवश्यक स्रोत व्यवस्थापनमा समन्वय गर्ने जिम्मेवारी अर्थमन्त्रीलाई दिइएको छ।

गोसाइँकुण्डमा उपाध्यक्ष र वडाध्यक्ष सम्पर्कविहीन

यसैबीच, बाढीको केन्द्र बनेको रसुवाको गोसाइँकुण्ड गाउँपालिकाका उपाध्यक्ष प्रतिमा तामाङ र वडा नम्बर ५ का वडाध्यक्ष दावा मिङ्मार तामाङ बाढीपछि सम्पर्कविहीन भएका छन्।

गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङका अनुसार वडा नम्बर २ र ५ का तटीय क्षेत्रमा ठूलो मानवीय क्षति भएको छ। बाढीले गाउँपालिका भवनसहित तटीय क्षेत्रका धेरै संरचना बगाएको उनले बताएका छन्।

उपाध्यक्ष तामाङ र वडाध्यक्ष तामाङको फोन सम्पर्क हुन नसकेको र पछि मोबाइल स्वीच अफ भएको अध्यक्ष नुर्पुले जानकारी दिएका छन्। बाढीबाट प्रभावित तथा बेपत्ता भएका नागरिकको संख्या यकिन गर्नसमेत कठिन भइरहेको उनले बताए। उद्धारका लागि पर्याप्त सरकारी पहल हुन नसकेको भन्दै उनले गुनासोसमेत गरेका छन्।

सरकारले भने बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि आवश्यक सबै साधन परिचालन गर्न सम्बन्धित मन्त्रालय तथा सुरक्षा निकायलाई निर्देशन दिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ