काठमाडौं– रसुवाको टिमुरे क्षेत्रमा बुधबार आएको भीषण बाढीले बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयमा समेत ठूलो क्षति पुर्याएको छ।
नेपाल बैंकर्स संघका अनुसार बाढी प्रभावित क्षेत्रमा रहेका वाणिज्य बैंकका ९ शाखा प्रभावित भएका छन् भने ती कार्यालयमा कार्यरत आधाभन्दा बढी कर्मचारी अझै सम्पर्कमा आएका छैनन्।
बाढीले अधिकांश शाखाका भवन तथा भौतिक संरचनामा क्षति पुर्याएको प्रारम्भिक जानकारी आए पनि सञ्चार सम्पर्क अवरुद्ध हुँदा क्षतिको यकिन विवरण संकलन गर्न कठिन भएको संघका अध्यक्ष सन्तोष कोइरालाले बताए। ‘बाढी गएको क्षेत्रमा बैंकका नौवटा शाखा थिए। ती सबैमा क्षति पुगेको अनुमान छ। टेलिफोन सम्पर्क हुन नसकेकाले क्षतिको यकिन विवरण संकलन गर्न समस्या भइरहेको छ,’ उनले भने।
केही कर्मचारी भने सम्पर्कमा आएर आफूहरू सुरक्षित रहेको जानकारी गराएका छन्। उनीहरूले कार्यालय तथा भौतिक संरचना भने बाढीले बगाएको बताएका छन्। बाढी प्रभावित टिमुरे क्षेत्रमा नबिल, लक्ष्मी सनराइज, हिमालयन, एनएमबी, ग्लोबल आइएमई, माछापुच्छ्रे, सानिमा र नेपाल इन्भेस्टमेन्ट मेघा लगायत बैंकका शाखा रहेका थिए।
बाढीको जानकारी पाएपछि बैंकर्स संघले आकस्मिक बैठक बसेर प्रभावित शाखा तथा कर्मचारीको अवस्थाबारे विवरण संकलन र उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने निर्णय गरेको कोइरालाले बताए। ‘कर्मचारीको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग अनुरोध गरेका छौँ। सम्पर्क भएसम्म शाखा र कर्मचारीको अवस्थाबारे विवरण लिइरहेका छौँ,’ उनले भने।
संघले सुरक्षा निकायसँग समन्वय गरी प्रभावित क्षेत्रमा रहेका बैंकका कर्मचारीको खोजी तथा उद्धारलाई प्राथमिकता दिन आग्रह गरेको छ।
बाढीले टिमुरे बजार र आसपासका क्षेत्रमा ठूलो क्षति पुर्याएको प्रारम्भिक विवरण आएको छ।
बैंकका शाखा, उपकरण तथा अन्य भौतिक सम्पत्तिमा भएको क्षतिको विस्तृत विवरण भने सञ्चार सम्पर्क सहज भएपछि मात्रै यकिन हुने संघले जनाएको छ।
प्रतिक्रिया