+
Search

ताजा अपडेट +

पपुलर +

जम्बाे टाेली लिएर ऊर्जा मन्त्रालय किन पुगे गृहमन्त्री गुरूङ?

पालिका लाइभ
२०८३ भाद्र ३, बुधबार

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ गोरखा-१ का जलविद्युत् व्यवसायी लिएर ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय पुगेका छन् । आफ्नो क्षेत्रमा निर्माणाधीन जलविद्युत् आयोजनामा देखिएका समस्या लिएर मन्त्री गुरुङ ऊर्जा मन्त्रालय पुगेका हुन् ।

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठ र नेपाल विद्युत् प्राधिकरणको टिमले उनीहरूको समस्या सुनेको छ । व्यवसायीहरूले उत्पादनको तयारीमा रहेको भन्दै प्रसारण लाइनको विस्तारदेखि विभिन्न व्यवस्थापकीय विषय उठाएका थिए ।

मन्त्री गुरुङले  गोरखाका नदीमा निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् आयोजनाको निर्माणका क्रममा आइपरेका समस्या समाधानका लागि सहजीकरण गर्न ऊर्जा मन्त्री श्रेष्ठ र विद्युत् प्राधिकरणलाई अनुरोध गरेका थिए ।

मन्त्री गुरुङले जलविद्युत् व्यवसायीलाई पनि सिएसआरमा पारदर्शिता हुनुपर्ने, राजनीति नगरी व्यवसाय मात्र गर्नुपर्ने र जलविद्युत् आयोजनाबाट त्यहाँको जनताले सुविधा पाउनुपर्ने बताए । उनले सरकारबाट पूर्ण सहजीकरण हुने र प्राधिकरणले बाधाहरू फुकाउने भन्दै राजनीति नगरी काम गर्न जलविद्युत् व्यवसायीलाई भनेका थिए ।

छलफलमा ऊर्जा मन्त्री श्रेष्ठले गोरखाका जलविद्युत् आयोजना निर्माणमा देखिएका समस्या समाधानका लागि पूर्ण सहजीकरण गर्ने प्रतिबद्धता जनाए । उनले सहजीकरण गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन पनि दिए ।

गोरखामा बूढीगण्डकीसहित १० भन्दा जलविद्युत् आयोजना निर्माण भइरहेको छ । निर्माणका क्रममा आएका समस्या बोकेर गृहमन्त्री गुरुङ ऊर्जा मन्त्रालय आएका थिए ।

विद्युत् प्राधिकरणका कामु निर्देशन दीर्घायु श्रेष्ठले पनि जलविद्युत् आयोजना निर्माणमा देखिएका समस्या सम्बोधनको लागि पहल भइरहेको र प्रसारण लाइनको समस्याका लागि स्रोत जुटाउन गृहकार्य भइरहेको जानकारी गराएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ