+
Search

ताजा अपडेट +

पपुलर +

भोटेकोशीमा तिब्बतबाट आयो भीषण बाढी, रसुवादेखि मुग्लिनसम्म उच्च जोखिम

पालिका लाइभ
२०८३ भाद्र १०, बुधबार

काठमाडौं– तिब्बततर्फबाट भोटेकोशी नदीमा एक्कासि ठूलो बाढी आएपछि रसुवादेखि चितवनको मुग्लिनसम्म त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च जोखिम बढेको छ।

बाढीका कारण रसुवाको टिमुरे र स्याफ्रुबेँसी क्षेत्रमा ठूलो क्षति पुगेको प्रारम्भिक विवरण आएपछि नदी किनारका बस्ती र पृथ्वी राजमार्ग आसपास उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाका अनुसार बुधवार बिहान करिब ९ बजेतिर तिब्बततर्फबाट भोटेकोशी नदीमा ठूलो मात्रामा पानीको बहाव प्रवेश गरेको थियो। बाढी रसुवा हुँदै नुवाकोटको विदुरभन्दा तलसम्म पुगेको र माथिल्लो क्षेत्रमा ठूलो क्षति भएको प्रारम्भिक सूचना प्राप्त भएको शाखाले जनाएको छ।

बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीका अनुसार रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी तटीय क्षेत्रलाई उच्च जोखिममा राखिएको छ। विशेषगरी त्रिशूली नदी हुँदै मुग्लिनसम्मको क्षेत्रलाई उच्च जोखिममा राखिएको उनले बताए।

बाढीको बहाव मुग्लिनसम्म पुग्न केही घण्टा लाग्न सक्ने अनुमान गर्दै विभागले नदी किनारका बस्तीमा रहेका नागरिकलाई तत्काल सुरक्षित र उचाइ भएको स्थानमा जान आग्रह गरेको छ।

बाढीको जोखिमलाई ध्यानमा राख्दै पृथ्वी राजमार्ग तथा त्रिशूली नदी किनारका अन्य सडकमा आवागमन नगर्न र सम्भव भएसम्म यातायात रोक्न सुझाव दिइएको छ।

त्रिशूली नदीमा पानीको सतह बढ्दा त्यसमा मिसिने तादी, बूढीगण्डकी र मलेखुलगायत सहायक नदीमा समेत पानीको बहाव बढ्न सक्ने भएकाले ती क्षेत्रका बासिन्दालाई पनि सतर्क रहन भनिएको छ।

रसुवामा ठूलो क्षति

भोटेकोशीमा आएको बाढीले रसुवाको टिमुरे र आसपासका क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। टिमुरे भन्सार क्षेत्र र आसपासका संरचनामा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ।

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीका अनुसार टिमुरे र आसपासका बजारमा ठूलो क्षति भएको छ। रसुवा भन्सार क्षेत्रमा रहेका गाडी तथा अन्य सामग्री बाढीले बगाएको उनले बताएका छन्। बाढीले बजार र भन्सार क्षेत्र प्रभावित हुनुका साथै हालै निर्माण सम्पन्न भएको पुलसमेत बगाएको अधिकारीले बताएका छन्।

बाढीपछि उद्धार तथा क्षतिको विवरण संकलनका लागि सुरक्षा निकाय परिचालन गरिएको छ।

आकस्मिक बैठक

भोटेकोशीमा आएको बाढीपछि मनसुन प्रतिकार्य कमान्ड पोस्टको आकस्मिक बैठक बसेको छ। गृहमन्त्री सुदन गुरुङको उपस्थितिमा बैठक सुरु भएको हो।

सरकारले भोटेकोशी र त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

बाढी वर्षाका कारण आएको हो वा तिब्बततर्फ हिमताल विस्फोटलगायत अन्य कारणले भन्ने विषयमा भने तत्काल स्पष्ट भइसकेको छैन। घटनाबारे थप विवरण संकलन भइरहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ