काठमाडौं– मूल्य अभिवृद्धि कर (भ्याट) विवरणमा सामान्य त्रुटि भए अब करदाताले आफैँ सच्याउन सक्ने भएका छन्। आन्तरिक राजस्व विभागले नयाँ संस्करणको करदाता पोर्टल परीक्षणमा ल्याउँदै विवरण पेश गरेको सात दिनभित्र संशोधन गर्न सकिने व्यवस्था गरेको हो।
नयाँ पोर्टलमार्फत भ्याट विवरण पेश गरेपछि अंक वा अन्य सामान्य विवरणमा त्रुटि भए सात दिनभित्र करदाताले आफैँ सच्याउन सक्ने विभागले जनाएको छ। यसअघि विवरण पेश गरिसकेपछि सामान्य गल्ती सच्याउनसमेत सम्बन्धित कर कार्यालयमा पुग्नुपर्ने अवस्था थियो।
आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले नयाँ व्यवस्थाले करदातालाई कार्यालय धाउनुपर्ने झन्झट घटाउने बताए। ‘पुरानो प्रणालीमा विवरण इन्ट्री भइसकेपछि सच्याउन कठिन हुन्थ्यो। अहिले सात दिनको समय दिइएको छ। यस अवधिमा करदाताले घरमै बसेर आफ्नो विवरण रुजु गरी गल्ती सच्याउन सक्छन्,’ उनले भने।
ईटीडीएसको विवरण अब मासिक रूपमा प्रणालीमा
नयाँ पोर्टलमा स्रोतमा कर कट्टी (ईटीडीएस) सम्बन्धी व्यवस्था पनि थप व्यवस्थित गरिएको छ। अब स्रोतमा कट्टी भएको करको विवरण मासिक रूपमा प्रणालीमा दाखिला गर्नुपर्नेछ। हाल प्रत्येक महिनाको २५ गतेभित्र ईटीडीएस दाखिला गर्नुपर्ने व्यवस्था भए पनि कतिपय निकायले कर कट्टी गरेको रकम लामो समयसम्म आफूसँगै राख्ने र आर्थिक वर्षको अन्त्यतिर मात्र दाखिला गर्ने गरेको विभागले जनाएको छ।
नयाँ प्रणालीमा कर कट्टी भएको रकम समयमै प्रविष्ट हुने व्यवस्था गरिएको छ। तोकिएको समयमा रकम प्रणालीमा नदेखिए करदाताले आफूबाट कट्टी भएको रकम कहाँ रोकिएको हो भन्नेबारे सम्बन्धित निकायसँग जानकारी लिन सक्नेछन्। महानिर्देशक भुसालका अनुसार विगतमा कर दायित्व कम देखाउने उद्देश्यले पछिल्लो मितिमा विवरण प्रविष्ट गर्ने वा प्रणालीमा हेरफेर गर्ने सम्भावना रहन्थ्यो। नयाँ प्रणालीमा विवरण दाखिलालाई समयबद्ध र अनिवार्य बनाइएकाले यस्तो सम्भावना घट्ने उनले बताए।
प्यानदेखि अन्तःशुल्कसम्मका सेवा एउटै पोर्टलमा
नयाँ करदाता पोर्टलमा प्यान, भ्याट, अन्तःशुल्कलगायत राजस्वसम्बन्धी विभिन्न सेवा समेटिएका छन्। करदाताले प्यान कार्ड, अन्तःशुल्क इजाजतपत्र र करचुक्ता प्रमाणपत्र पोर्टलमा लगइन गरेर आफैँ डाउनलोड गर्न सक्नेछन्।
विदेशी लगानीकर्ताले प्यान दर्ताका लागि अनलाइनबाटै आवेदन दिन सक्ने सुविधा पनि पोर्टलमा राखिएको विभागले जनाएको छ। भ्याट विवरण संशोधनको सुविधा पनि नयाँ प्रणालीमै समेटिएको छ। अन्तःशुल्कजन्य प्रतिष्ठानले बुझाउने मासिक विवरण अब करदाताले आफैँ रुजु गर्न सक्ने भएका छन्। यसअघि यस्तो विवरण आन्तरिक राजस्व कार्यालयबाट मात्र रुजु हुने गरेको थियो।
आय विवरणअन्तर्गत अनुसूची–१० मा करदाताले आफैँ विवरण भर्नुपर्ने व्यवस्थामा पनि परिवर्तन गरिएको छ। अब उक्त विवरण प्रणालीबाटै स्वतः आउने व्यवस्था गरिएको विभागले जनाएको छ। यसबाट विवरण भर्दा हुने मानवीय त्रुटि घट्नुका साथै कर प्रशासनमा तथ्यांकको एकरूपता कायम गर्न सहयोग पुग्ने विभागको भनाइ छ।
नयाँसँगै पुरानो पोर्टल पनि चल्ने
विभागले नयाँ करदाता पोर्टल भदौ ९ गतेदेखि परीक्षण प्रयोगमा ल्याएको हो। नयाँ प्रणाली पूर्ण रूपमा परीक्षण नभएसम्म साबिकको पोर्टल पनि सञ्चालनमा रहने महानिर्देशक भुसालले बताए।
नयाँ पोर्टल ‘डिजाइन ड्रिभन डेभलपमेन्ट’ पद्धति र ‘माइक्रो सर्भिस आर्किटेक्चर’ मा आधारित भएर विकास गरिएको विभागले जनाएको छ। परीक्षणका क्रममा केही प्राविधिक समस्या आउन सक्ने भन्दै विभागले प्रयोगकर्ताबाट प्राप्त सुझावका आधारमा प्रणालीमा सुधार गर्दै जाने जनाएको छ।
नयाँ प्रणालीबाट भ्याट विवरण सच्याउन कार्यालय धाउनुपर्ने बाध्यता हट्नुका साथै ईटीडीएसको रकम समयमै प्रणालीमा देखिने, प्यान तथा करचुक्ता प्रमाणपत्रलगायत कागजात अनलाइनबाटै प्राप्त गर्न सकिने भएपछि करदाताको समय र लागत घट्ने विभागको अपेक्षा छ।
भुसालका अनुसार कर कट्टी भएको रकम समयमै राज्यकोषमा दाखिला हुने र करदाताले आफ्नो नाममा कट्टी भएको रकमको अभिलेखसमेत सहजै हेर्न सक्नेछन्।
प्रतिक्रिया