गोरखा– पालुङटार नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि खरिद योजना तर्जुमा गर्नुका साथै शाखा प्रमुखसँग कार्यसम्पादन सम्झौता गरेको छ।
नगरपालिकाको कृषि विकास तथा पशु सेवा शाखाको सभाहलमा आयोजित कार्यक्रममा नगर प्रमुख विवश चिन्तन, उपप्रमुख वन्दना पाण्डे, प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर वि.सी., वडाध्यक्ष, शाखा प्रमुख, वडा सचिवलगायत कर्मचारी सहभागी थिए।
खरिद योजना तर्जुमा कार्यक्रममा वार्षिक योजना तथा बजेटअनुसार खरिद प्रक्रिया अघि बढाउने, समयमै खरिद सम्पन्न गर्ने तथा सार्वजनिक खरिदलाई पारदर्शी र प्रतिस्पर्धी बनाउने विषयमा छलफल गरिएको थियो।
नगरपालिकाले खरिद योजना बनाएर काम अघि बढाउँदा विकास निर्माणका काममा हुने ढिलाइ घट्ने र बजेट कार्यान्वयनमा सहज हुने जनाएको छ।
कार्यक्रममा शाखा प्रमुखसँग गरिएको कार्यसम्पादन सम्झौतामा शाखागत जिम्मेवारी, लक्ष्य, कार्यसम्पादन सूचक र समयसीमा तोकिएको थियो। सम्झौताले कर्मचारीको जिम्मेवारी र कामको मूल्याङ्कनलाई स्पष्ट बनाउने नगरपालिकाको भनाइ छ।
नगर प्रमुख विवश चिन्तनले योजना बनाएर काम गर्ने र तोकिएको समयमा लक्ष्य पूरा गर्ने विषयमा कर्मचारी गम्भीर हुनुपर्ने बताए। ‘योजना बनाएर मात्रै हुँदैन, त्यसको प्रभावकारी कार्यान्वयन पनि आवश्यक छ। तोकिएको जिम्मेवारी र समय सीमाभित्र काम सम्पन्न गर्ने गरी सबै शाखाले नतिजा देखिने गरी काम गर्नुपर्छ,’ उनले भने।

उपप्रमुख वन्दना पाण्डेले नागरिकलाई सहज र गुणस्तरीय सेवा दिन कर्मचारीबीच समन्वय र जिम्मेवारीपूर्ण कार्यशैली आवश्यक रहेको बताइन्। ‘नागरिकले स्थानीय सरकारबाट छिटो र गुणस्तरीय सेवा खोजेका छन्। त्यसका लागि शाखाबीच राम्रो समन्वय र आफ्नो जिम्मेवारीप्रति जबाफदेही भएर काम गर्ने संस्कार विकास गर्नुपर्छ,’ उनले भनिन्।
प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर वि.सी.ले कार्यसम्पादन सम्झौताले शाखाको काम र जिम्मेवारी स्पष्ट हुने बताए। ‘कार्यसम्पादन सम्झौताले कसले के काम गर्ने र कहिलेसम्म गर्ने भन्ने स्पष्ट हुन्छ। यसका आधारमा कामको प्रगति र कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन गर्न पनि सहज हुन्छ,’ उनले भने।
नगरपालिकाका अनुसार खरिद योजना र कार्यसम्पादन सम्झौतामार्फत आर्थिक वर्ष २०८३/८४ का योजना तथा कार्यक्रमलाई समयमै अघि बढाउने र सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।
प्रतिक्रिया