रौतहट– रौतहटमा एक वर्षको अवधिमा १६३ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ। आत्महत्या गर्नेमा १६ वर्षभन्दा कम उमेरका ३२ बालबालिका रहेका छन्।
जिल्ला प्रहरी कार्यालय रौतहटको आर्थिक वर्ष २०८२/८३ को तथ्यांकअनुसार आत्महत्या गर्ने १६३ जनामध्ये ४७ पुरुष, ५३ महिला, ७ बालक र ५६ बालिका छन्। उमेर समूहका आधारमा सबैभन्दा धेरै १६ देखि २५ वर्ष उमेर समूहका ६९ जना रहेका छन्।
त्यस्तै, २६ देखि ३५ वर्षका २२ जना, ३६ देखि ४५ वर्षका २० जना, ४६ देखि ६० वर्षका ४ जना र ६० वर्षभन्दा माथिका ५ जनाले आत्महत्या गरेका छन्। तथ्यांकको सबैभन्दा चिन्ताजनक पक्ष भनेको १६ वर्षभन्दा कम उमेरका ३२ बालबालिकाले एक वर्षमै आत्महत्या गरेको तथ्य हो। प्रहरीका अनुसार तीमध्ये अधिकांश विद्यार्थी रहेका छन्।
जिल्ला प्रहरी प्रवक्ता डीएसपी वसन्त गौतमले कलिलो उमेरमा आत्महत्याका घटना देखिनुले बालबालिकाको मानसिक तथा भावनात्मक अवस्थाप्रति परिवार, विद्यालय र समुदायले थप ध्यान दिनुपर्ने देखाएको बताए।
किशोरावस्थामा पढाइ, पारिवारिक अपेक्षा, साथीभाइसँगको सम्बन्ध, सामाजिक दबाब तथा विद्यालयको वातावरणलगायत विभिन्न पक्षले मानसिक तनाव बढाउन सक्ने भए पनि कुनै एक कारणलाई आत्महत्याको प्रत्यक्ष कारणका रूपमा निष्कर्ष निकाल्न नहुने प्रहरीको भनाइ छ। प्रत्येक घटनाको पृष्ठभूमि फरक हुने भएकाले पारिवारिक, सामाजिक, मनोवैज्ञानिक र व्यक्तिगत अवस्थाको समग्र अध्ययन आवश्यक हुन्छ।
बालबालिकामा व्यवहारमा अचानक परिवर्तन आउनु, एक्लिन खोज्नु, पढाइ वा आफूलाई मन पर्ने गतिविधिमा रुचि घट्नु, परिवार तथा साथीभाइबाट टाढिनु वा निराश देखिनुजस्ता संकेतलाई अभिभावक र शिक्षकले गम्भीर रूपमा लिनुपर्ने मनोसामाजिक क्षेत्रका जानकारहरू बताउँछन्।
विद्यालयमा विद्यार्थीको शैक्षिक उपलब्धिसँगै मानसिक तथा भावनात्मक अवस्थालाई समेत प्राथमिकता दिनुपर्ने देखिन्छ। नियमित मनोसामाजिक परामर्श, शिक्षकलाई मानसिक स्वास्थ्यसम्बन्धी आधारभूत तालिम र समस्यामा परेका विद्यार्थीले सहज रूपमा आफ्नो कुरा राख्न सक्ने वातावरण बनाउनुपर्ने आवश्यकता तथ्यांकले देखाएको छ।
प्रहरीको तथ्यांकमा देखिएको ३२ बालबालिकाको संख्या केवल एउटा अंक नभई ३२ परिवारले भोगेको अपूरणीय क्षति हो। त्यसैले आत्महत्या रोकथामका लागि स्थानीय तह, विद्यालय, स्वास्थ्य संस्था, प्रहरी, अभिभावक र समुदायबीच समन्वय गरी बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्ने देखिन्छ।
रौतहटमा एक वर्षमै १६३ जनाले आत्महत्या गरेको तथ्यांकले आत्महत्या रोकथामलाई स्वास्थ्य क्षेत्रको विषयमा मात्र सीमित नराखी परिवार, विद्यालय, समुदाय र राज्यको साझा जिम्मेवारीका रूपमा लिनुपर्ने आवश्यकता औँल्याएको छ।
प्रतिक्रिया