काठमाडौं– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले फेरि धम्की दिएका छन्। यस पटक उनले मेयर र प्रदेशका मन्त्रीहरूलाई धम्क्याएका हुन्।
तनहुँको शुक्लागण्डकी नगरपालिका–५, दुलेगौंडामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का स्थानीय नेता तथा कार्यकर्तासँगको भेटघाट कार्यक्रममा मन्त्री लम्सालले मेयर र प्रदेशका मन्त्रीलाई कारबाही गर्ने धम्की दिएका हुन्। जनप्रतिनिधिले जिम्मेवार भएका काम गर्नुपर्ने उनको भनाइ थियो।
जनप्रतिनिधिले जनताको काम नगरेको भए जानकारी दिन उनले रास्वपाका नेता तथा कार्यकर्तालाई आग्रह गरे। ‘यदि कुनै स्थानीय तहका प्रमुख वा जिम्मेवार पदाधिकारीले जनताको काम नगरेको, नागरिकलाई अपहेलना गरेको वा दुःख दिएको पाइएमा हामीलाई जानकारी दिनुहोस्,’ उनले भने, ‘त्यस्ता गैरजिम्मेवार पदाधिकारीमाथि कानुनअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइनेछ।’
उनी यतिक्कैमा रोकिएनन्। यदि मेयर र प्रदेशका मन्त्रीले जनताको काम गरेन भने थुन्ने थम्की दिएन। ‘मेयरलाई पनि कारबाही गर्छौं। प्रदेश मन्त्रीले काम गरेन भने प्रदेशको मन्त्रीलाई पनि थुन्छौँ हामी,’ मन्त्री लम्सालले भने, ‘काम चाहि गर्नुपर्यो, काम चाहि गराउनुपर्यो।’
मन्त्री लम्सालले यसअघि ठेकेदारलाई धम्की दिएका थिए। काम नगर्ने ठेकेदारका खुट्टा भाँच्ने भन्दै उनले धम्क्याएका थिए। गत जेठ ३१ गते नागढुंगा–मुग्लिन सडक आयोजनाको स्थलगत अनुगमनका क्रममा उनले पोल नसार्ने ठेकेदारका खुट्टा भाँच्ने अभिव्यक्ति दिएका थिए।
‘यो पोलवाला जो हो नि बिजुलीको पोल। यो कन्ट्रयाक्टर कहाँ छ, यो धर्तीमा जहाँ भए पनि यहाँ ल्याएर राख्नुस्। घर पठाउने होइन। त्यसले काम गरेन भने खुट्टा भाँचिदिनुस् मतलब भएन,’ मन्त्री लम्सालले भनेका थिए, ‘चाँडोभन्दा चाँडो पोल सार्न पर्यो। यहाँका पब्लिकले धेरै दुःख पाए।’
ठेकेदारका खट्टा भाँच्ने अभिव्यक्तिको विरोध भएको थियो। फेरि अहिले उनले मेयरलाई कारबाही गर्ने र प्रदेशका मन्त्रीलाई थुन्ने धम्की दिएका हुन्।
प्रतिक्रिया