काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले २०८४ मा हुने स्थानीय तहको निर्वाचन स्थानीय तहलाई अझ बलियो बनाएर समाजवादी क्रान्तिको आधार तयार पार्ने ऐतिहासिक अग्निपरीक्षा र वैचारिक-राजनीतिक लडाइँका रूपमा लिनुपर्ने निष्कर्ष निकालेको छ।
नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा जारी स्थानीय तह विभाग प्रमुख अग्निप्रसाद सापकोटाले पेश गरेको आगामी कार्ययोजना आगामी निर्वाचनलक्षित छ।
उनले भने ‘७५३ वटा स्थानीय तहहरू आज संवैधानिक हिसाबले अधिकार सम्पन्न स्थानीय सरकारका रूपमा क्रियाशील छन्। देशभरका १४४ स्थानीय तहमा हाम्रो पार्टीले नेतृत्व गर्ने अवसर पाउँदा कतिपय स्थानीय तहहरूले उदाहरणीय काम गरेर देखाएका छन्। यो अन्तिम वर्ष सुरु गरिएका कामहरू सफलतापूर्वक सम्पन्न गर्ने, स्पष्ट परिणाम दिने र जनताको मनमा सकारात्मक छाप छोड्ने वर्ष हो।’
जनताको जीवनमा प्रत्यक्ष देखिने परिवर्तन, सुशासन, सेवा प्रवाहको सुधार, नागरिक सन्तुष्टि र अधुरा योजनाहरूको पूर्णता यस वर्षको मुख्य प्राथमिकता हुनुपर्ने बताए।
पार्टीको स्थानीय तह विभागसँग निरन्तर समन्वय, सहकार्य र मार्गदर्शनमा आधारित भएर स्पष्ट योजना कार्यान्वयन गर्न यस भेलाले कार्यदिशा तय गर्ने बताए।
उनले भने, ‘हामीले स्थानीय तह निर्वाचन जित्नु र अन्य दलले जित्नुमा के फरक छ भन्ने कुरा व्यावहारिक रूपमा पुष्टि हुन जरुरी छ। हामीले अहिले गरिरहेका अभ्यासबाट सन्तोष मान्न सकिन्न। हाम्रो तुलना अरूसँग हुन सक्दैन। हामीले राम्रो गर्नका लागि आफैँभित्र प्रतिस्पर्धा गरी नवीनतम प्रयोग गर्नुपर्दछ। यो प्राविधिक सत्ता हस्तान्तरणको विषय नभएर दृष्टिकोण, वर्गीय पक्षधरता, कार्यशैलीको भिन्नता पनि हो। स्थानीय तह हाम्रो पहिचान हो।’
स्थानीय तहको प्रमुख प्राथमिकता सुशासन, विकास र सेवा प्रवाह हुनुपर्ने बताए।
प्रतिक्रिया