+
Search

ताजा अपडेट +

पपुलर +

गण्डकीमा रास्वपाको लहर: एमाले र नेकपा शून्य, कांग्रेस दुई सिटमा सीमित

पालिका लाइभ
२०८२ फाल्गुन २६, मंगलवार

पोखरा– प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामले गण्डकी प्रदेशको राजनीतिक समीकरणलाई नाटकीय रूपमा परिवर्तन भएको छ। यसपटकको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रदेशका अधिकांश क्षेत्रमा प्रभावशाली जित निकाल्दा पुराना राजनीतिक दलहरू भने कमजोर अवस्थामा पुगेका छन्।

विशेषगरी नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) गण्डकी प्रदेशबाट पूर्ण रूपमा बाहिरिएका छन्।

गत बिहीबार सम्पन्न निर्वाचनको मतपरिणामअनुसार गण्डकी प्रदेशका १८ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये १५ क्षेत्रमा रास्वपा उम्मेदवार विजयी भएका छन्। म्याग्दी, मुस्ताङ र मनाङ बाहेकका सबै जिल्लामा रास्वपाले विजय हासिल गर्दै प्रदेशमा आफ्नो बलियो उपस्थिति स्थापित गरेको हो।

म्याग्दीमा भने स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी भएका छन्। मुस्ताङ र मनाङमा भने कांग्रेसले जित निकाल्न सफल भयो। मुस्ताङबाट योगेश गौचन थकाली र मनाङबाट टेकबहादुर गुरुङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

गण्डकी प्रदेशको राजधानी रहेको कास्कीमा पनि रास्वपाले क्लिन स्विप गरेको छ। कास्की–१ बाट खड्कराज पौडेल, कास्की–२ बाट उत्तमप्रसाद पौडेल र कास्की–३ बाट बिना गुरुङ विजयी बनेका छन्।

बागलुङका दुवै क्षेत्रमा पनि रास्वपाले जित हात पारेको छ। बागलुङ–१ मा सुशील खड्का र बागलुङ–२ मा सोम शर्मा निर्वाचित भए। स्याङ्जामा पनि रास्वपाले दुवै क्षेत्रमा विजय हासिल गर्दै आफ्नो प्रभाव कायम राख्यो। स्याङ्जा–१ बाट धनञ्जय रेग्मी र स्याङ्जा–२ बाट झविलाल डुम्रे संसद्मा पुगेका छन्।

तनहुँमा पनि रास्वपाले दुवै क्षेत्रमा जित निकाल्यो। तनहुँ–१ बाट स्वर्णिम वाग्ले र तनहुँ–२ बाट श्रीराम न्यौपाने विजयी भए। त्यस्तै नवलपुर–१ बाट राजन गौतम र नवलपुर–२ बाट मनिष खनाल पनि रास्वपाबाट निर्वाचित भएका छन्।

लमजुङमा रास्वपाका धर्मराज केसी विजयी भए भने पर्वतबाट सागर भुसाल संसद्मा पुगे। गोरखाका दुवै क्षेत्रमा पनि रास्वपाले जीत निकालेको छ। गोरखा–१ बाट सुदन गुरुङ र गोरखा–२ बाट कवीन्द्र बुर्लाकोटी प्रतिनिधिसभामा निर्वाचित भएका छन्।

यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा गण्डकी प्रदेशमा नेकपा (एमाले)ले पाँच र नेकपाले दुई निर्वाचन क्षेत्रमा विजय हासिल गरेका थिए। तर यसपटक भने दुवै दलले एउटा पनि क्षेत्र जित्न सकेनन्। अघिल्लो निर्वाचनमा १० क्षेत्र जितेको नेपाली कांग्रेस पनि यसपटक गण्डकीमा दुई सिटमा सीमित भएको छ।

त्यस्तै, अघिल्लो चुनावमा बागलुङ–१ बाट विजयी भएको राष्ट्रिय जनमोर्चाको अवस्था पनि यसपटक कमजोर देखिएको छ। सो क्षेत्रमा उम्मेदवार बनेका जनमोर्चाका उम्मेदवारको जमानतसमेत जफत भएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ