+
Search

ताजा अपडेट +

पपुलर +

नारायणकाजीको प्रस्ताव- निर्मम आत्मसमीक्षासहित पार्टी पुनर्गठन गरौँ

फाइल तस्बिर
पालिका लाइभ
२०८२ फाल्गुन २६, मंगलवार

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता नारायणकाजी श्रेष्ठले चुनावी परिणामको निर्मम आत्मसमीक्षासहित नयाँ नीति र योजना बनाएर अघि बढ्नुपर्ने बताएका छन् । अब उपयुक्त रणनीतिक र कार्यनीतिक कार्यभारलाई केन्द्रमा राखेर एकता, ध्रुवीकरण, सहकार्य र संयुक्त मोर्चासहित समग्र रूपान्तरण तथा पुनर्गठन गर्नुपर्ने उनको भनाइ छ ।

पार्टी पुनर्गठन गरेर देश तथा जनताको पक्षमा संघर्षको नीति योजना बनाएर क्रान्तिनिष्ठा धैर्य, विवेक र साहसका साथ दृढतापूर्वक अघि बढ्ने संकल्प गर्नुपर्ने श्रेष्ठले बताएका छन् ।

उनले भनेका छन्, ‘अब हामीले वस्तुनिष्ठ भई समग्र परिस्थितिको विश्लेषण, संश्लेषण गरेर निर्मम आत्मसमीक्षा सहित नयाँ नीति र योजना बनाएर अघि बढ्नु जरुरी छ । हाम्रो कार्यदिशाले शान्तिपूर्ण परिवर्तनलाई आधारित गरेकाले निर्वाचन र सरकार मार्फतको कामलाई निश्चय नै महत्त्वपूर्ण ठान्दछ तर त्यसैलाई मात्र सम्पूर्ण ठान्दैन ।’

शान्तिपूर्ण कार्यदिशा अन्तर्गत सरकार, सदन र सडक सङ्घर्षको मोर्चामध्ये कुन बेला कुन मोर्चा प्रमुख हुन्छ भन्ने कुरा तत्कालीन परिस्थितिमा भर पर्ने उनले बताए ।

हालै सम्पन्न निर्वाचनबाट निर्वाचित संयोजक प्रचण्डसहित सबैलाई बधाई दिँदै जुनसुकै संघर्षको मोर्चामा क्रियाशील भइरहँदा श्रेष्ठले पाँच कार्यभारमा जोड दिएका छन्-

१. राष्ट्रिय सार्वभौमिकता,भौगोलिक अखण्डता, स्वाधीनता,स्वाभिमान र राष्ट्रिय हितको रक्षा गर्ने । राष्ट्रिय एकता सुदृढ पार्ने ।

२. नेपाली जनताले ६ दशक भन्दा बढी बलिदानपूर्ण सङ्घर्ष गरेर प्राप्त गरेको ऐतिहासिक राजनीतिक परिवर्तनका उपलब्धिहरू , समाजवादउन्मुख समावेशी सङ्घीय गणतन्त्रात्मक लोकतन्त्र ,र त्यसलाई संस्थागत गरिएको संविधानको रक्षा गर्ने ,त्यसलाई सुदृढ र परिमार्जन गर्दै जाने ।

३. शान्ति प्रक्रियाको बाँकी कार्यभार ,सङ्क्रमणकालीन न्याय ,को कार्यभारलाई यथाशीघ्र पूरा गर्ने ।

४. सामाजिक आर्थिक रूपान्तरणद्वारा सामाजिक न्याय सहितको समृद्धिको लक्ष पूरा गरेर जनताको जनजीविकाका आधारभूत आवश्यकता पूरा गरेर जीवन फेर्ने र समाजवादको आधार तयार पार्ने ।

५. नेपालमा समाजवाद निर्माण गरेर समाजवादी क्रान्तिको रणनीतिक कार्यभार पूरा गर्ने।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ