+
Search

ताजा अपडेट +

पपुलर +

इजरायलद्वारा इरानमाथि हवाई आक्रमण, मध्यपूर्वको क्षेत्रीय तनाव चर्कियो

पालिका लाइभ
२०८२ फाल्गुन १६, शनिबार

काठमाडाैं– इजरायलले इरानमाथि हवाई आक्रमण गरेको छ। इरानको राजधानी तेहरानमा विस्फोटपछि बाक्लो धुवाँको मुस्लो देखिएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। आक्रमणको क्षति र मानवीय अवस्थाबारे विस्तृत विवरण भने तत्काल सार्वजनिक भएको छैन।

इरानमा पछिल्लो समय इस्लामिक शासन व्यवस्थाविरुद्ध आन्दोलन चर्किँदै आएको छ। यसबीच अमेरिकाले इरानविरुद्ध कारबाही गर्न सक्ने सम्भावनाबारे चर्चा चलिरहेका बेला दुवै देशबीच कूटनीतिक वार्ता पनि जारी थियो। इरान र अमेरिकाबीच संवाद भइरहेकै अवस्थामा इजरायलले आक्रमण गरेको हो।

इजरायलले आफ्नो देशमाथि हुनसक्ने सम्भावित आक्रमण रोक्न पूर्वसावधानीस्वरूप कारबाही गरिएको प्रारम्भिक प्रतिक्रिया दिएको छ। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले यसअघि नै इरानको ब्यालेस्टिक मिसाइल कार्यक्रमले इजरायलमाथि गम्भीर सुरक्षा खतरा उत्पन्न गरेको भन्दै आवश्यक परे प्रतिकारात्मक कदम चालिने चेतावनी दिँदै आएका थिए।

क्षेत्रीय तनाव बढिरहेका बेला यस घटनाले मध्यपूर्वको सुरक्षा अवस्थालाई थप जटिल बनाउने विश्लेषण गरिएको छ।

सीएनएनले इरानमाथिको आक्रमणमा अमेरिका पनि इजराइलसँगै रहेको उल्लेख गरेको छ। अमेरिकी अधिकारीहरूले इरान माथिको कारबाहीलाई सानो आक्रमण नभएको भन्दै टिप्पणी गरेका छन्। इजरायलले आक्रमणसँगै देशभरि आपतकाल पनि घोषणा गरेको छ।

समाचार संस्था एपीका अनुसार तेहरान सहरको केन्द्रभागमा धुवाँको मुस्लो उठेको देखिएको छ। पहिलो आक्रमण सर्वोच्च नेता आयातुल्लाह अली खामेनीको कार्यालय नजिक भएको देखिएको छ। रानी सञ्चारमाध्यमले देशभर आक्रमण भएको जनाएका छन्।

८६ वर्षीय खामेनी आक्रमणका बेला कार्यालयमै थिए कि थिएनन् भन्ने पनि स्पष्ट छैन। अमेरिका र इरानबीच तनाव बढ्दै जाँदा उनी पछिल्ला केही दिन सार्वजनिक रूपमा देखिएका छैनन्। यस आक्रमणअघि संयुक्त राज्य अमेरिकाले इरानलाई परमाणु कार्यक्रम सीमित गर्न दबाब दिन क्षेत्रमा ठूलो संख्यामा लडाकु विमान र युद्धपोत तैनाथ गरेको थियो।

तेहरानको केन्द्रमा रहेको खामेनीको परिसर जाने सडकहरू बन्द गरिएको थियो भने राजधानीका अन्य क्षेत्रमा पनि विस्फोटको आवाज सुनिएको थियो। इराकले आफ्नो हवाई क्षेत्र बन्द गरेको यातायात मन्त्रालयले जनाएको छ।

इजरायली आक्रमणको निसानामा इरानको सेना, सरकारी कार्यालय र गुप्तचर सम्बन्धित स्थानहरू रहेको एक अधिकारीले बताएका छन्। यसैबीच, इरानले आफ्नो हवाई क्षेत्र बन्द गरेको छ भने मोबाइल सेवा पनि बन्द गरिएको छ। तेहरानमा विस्फोटको आवाज सुनिएपछि विमान चालकहरूलाई चेतावनी जारी गरिएको थियो।

इरानमाथि इजरायलले गरेको सैन्य कार्बाहीमा अमेरिकी पनि सहभागी भएको राष्ट्रपति डोनल्ड ट्रम्पले बताएका छन्। उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गरेको भिडिओमार्फत् यस्तो खुलाएका हुन्। अमेरिकाले ‘महत्त्वपूर्ण युद्ध कारबाही’ थालेको बताएका उनले बारम्बार सहमति गर्न खोजेको भए पनि यो परिस्थिति आएको बताएका छन्। ‘हामी उनीहरूको क्षेप्यास्त्र नष्ट पारिदिन्छौँ र उनीहरूको क्षेप्यास्त्र उद्योग ध्वस्त पारिदिन्छौँ। त्यो पूरै नष्ट हुनेछ,’ उनले भनेका छन्।

यो कार्बाहीमा अमेरिकी सेनातर्फ पनि हुनसक्ने क्षतिप्रति सतर्क देखिएका उनले तयार रहनुको विकल्प नभएको उल्लेख गरेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ