+
Search

ताजा अपडेट +

पपुलर +

नेपालको राजनीतिक परिवर्तनबारे अमेरिकी रिपोर्टः बालेन र रास्वपाको मिलन ‘म्यारिज अफ कन्भिनियन्स’, बीआरआई ‘सुस्त’

पालिका लाइभ
२०८३ बैशाख १, मंगलवार

काठमाडौं– कंग्रेसनल रिसर्च सर्भिस (सीआरएस) नामक अमेरिकी संस्थाले नेपालमा हालैको राजनीतिक परिवर्तनलाई लिएर तयार गरेको रिपोर्ट सार्वजनिक भएको छ ।

जेनजी आन्दोलनयताको राजनीतिक गतिविधिको विश्लेषण गरिएको रिपोर्टले बालेन शाह र रास्वपाको गठबन्धन दिगो हुनेमा शंसय व्यक्त भएको छ ।

सीआरएस अमेरिकी संसदको अनुसन्धान सेवा हो । यसले कंग्रेसका समितिहरू र कंग्रेसका सदस्यहरूलाई निष्पक्ष एवं साझा संस्थाको रूपमा सेवा प्रदान गर्दछ । यो पूर्ण रूपमा कंग्रेसको निर्देशन र आदेशअनुसार मात्र सञ्चालन हुन्छ । नेपाल सम्बन्धी यो रिपोर्ट लेखक एसिया नीति सम्बन्धी विश्लेषक मारिया ए ब्ल्याउडले तयार पारेकी हुन् ।

नेपाललाई दक्षिण एसियामा भारत र चीनबीच अवस्थित एक निम्न मध्यम आय भएको देशका रुपमा रिपोर्टमा चित्रित गरिएको छ । युवा नेतृत्वको आन्दोलनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाएको ६ महिनापछि भएको संसदीय चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीले निर्णायक जित हासिल गरेको रिपोर्टमा उल्लेख छ ।

जेनजी आन्दोलनको पृष्ठभूमिबारे रिपोर्टमा भनिएको छ, ‘२०२५ सेप्टेम्बर ४ मा नेपाल सरकारले सामाजिक सञ्जाल नियमन गर्ने नयाँ कानुनको पालन नगरेको भन्दै २६ वटा सामाजिक सञ्जाल प्लेटफर्महरूलाई रोक लगायो । यस कदमले सेप्टेम्बर ८ मा ठूलो स्तरको प्रदर्शन निम्त्यायो, जसमा दशौं हजार प्रदर्शनकारीहरू– मुख्य रूपमा युवाहरू काठमाडौंमा भेला भए । प्रदर्शनहरूले प्रमुख राजनीतिक दलहरूप्रतिको व्यापक असन्तुष्टिलाई छोयो ।’

सुरुमा शान्तिपूर्ण रहेका प्रदर्शनहरूलाई प्रहरीले गोली चलाएपछि व्यापक अशान्ति उत्पन्न भएको दाबी रिपोर्टमा गरिएको छ । प्रदर्शनको क्रममा काठमाडौंका मेयर बालेन शाह सम्भावित नयाँ नेताको रूपमा उभिएको रिपोर्टमा उल्लेख छ ।

‘उनले प्रदर्शनकारीहरूप्रति समर्थन व्यक्त गरे, तर नेपालको अन्तरिम प्रधानमन्त्री बन्ने प्रस्ताव अस्वीकार गरे ।’ रिपोर्टमा भनिएको छ ।

त्यसपछि सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार बनाएको र यसले आमचुनाव गराएको चर्चा गरिएको छ । चुनावमा मेयर बालेन्द्र साह र रास्वपाबीच सहकार्य भएको भन्दै यो सहकार्यलाई कतिपय पर्यवेक्षकले स्वार्थप्रेरित गठजोड भनेको रिपोर्टमा उल्लेख छ ।

‘काठमाडौंको मेयरको रूपमा स्वतन्त्र रहेका शाहले आरएसपीको तर्फबाट उम्मेदवारी दिए, जसलाई केही पर्यवेक्षकहरूले ‘स्वार्थप्रेरित गठजोड’ भनेका थिए,’ प्रतिवेदनमा भनिएको छ ।

रास्वाले चुनावमा पुराना राजनीतिक शक्तिहरूलाई निकै पछाडि पार्दै बहुमत ल्याएको र धेरै वरिष्ठ राजनीतिज्ञहरु रास्वपाका उम्मेदवारसँग् पराजित भएको प्रतिवेदनमा भनिएको छ ।

‘मार्चको निर्वाचनले मतदाताहरूमा परिवर्तनको स्पष्ट चाहना देखायो, जसले शाह र आरएसपीका लागि अवसरहरू साथै सम्भावित चुनौतीहरू दुवै प्रस्तुत गरेको छ,’ रिपोर्टमा लेखिएको छ, ‘शाह स्थापित–विरोधी व्यक्तित्व र सुधारकको रूपमा लोकप्रिय बनेका थिए, तर मेयरको रूपमा उनको शासन रेकर्डलाई केही विश्लेषकहरूले मिश्रित भनेका छन् । केहीले शाह ‘कसरी शासन गर्ने भन्ने विषयमा विशिष्ट योजनाहरूमा कमजोर’ रहेको टिप्पणी गरेका छन् । शाहले मुख्य रूपमा फेसबुक पोस्टहरू मार्फत सञ्चार गर्छन्, परम्परागत मिडियासँग सक्रिय संलग्नता नदेखाई ।’

विश्लेषकको हवाला दिँदै प्रतिवेदनमा शाह र रास्वपा नेतृत्वबीच तनाव हुन सक्ने उललेख छ । ‘रिपोर्टमा भनिएको छ, ‘केही विश्लेषकहरूले शाह र आरएसपी नेतृत्वबीच सम्भावित तनावको पूर्वानुमान गरेका छन् । एक विश्लेषकले आरएसपीलाई ‘एक छाता संगठनको रूपमा वर्णन गरेका छन् जसले विद्यमान दलहरूप्रति असन्तुष्टहरूलाई शासन सुधार केन्द्रित प्राविधिक दृष्टिकोण अन्तर्गत एकत्रित गर्दछ ।’

भ्रष्टाचारविरुद्ध लड्ने र सेप्टेम्बर २०२५ को हिंसाका लागि जवाफदेहिता खोज्ने शाहको दृष्टिकोणले उनको प्रशासनप्रतिको जनभावनालाई निर्णायक रूपमा प्रभाव पार्न सक्ने रिपोर्टमा उल्लेख छ ।

चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ मार्फतका पूर्वाधार परियोजनाहरूमा के प्रभाव पर्छ भन्ने अझै स्पष्ट नभएको विश्लेषण गरिएको छ ।

जनवादी गणतन्त्र चीन सरकारले नेपाल सरकारलाई नेपालमा तिब्बतीहरूको स्वतन्त्र भेला र अभिव्यक्तिलाई प्रतिबन्ध लगाउन दबाब दिएको प्रतिवेदनमा उल्लेख छ ।

आर्थिक वर्ष २०२६ का लागि कांग्रेसले तिब्बत बाहिरका तिब्बतीहरूका लागि १३ मिलियन डलर छुट्याएको र त्यसमध्ये केही रकम नेपालमा तिब्बतीहरूलाई समर्थन गर्ने कार्यक्रमहरूका लागि भएको पनि प्रतिवेदनमा जनाइएको छ ।

के हो कंग्रेसनल रिसर्च सर्भिस ?

कंग्रेसनल रिसर्च सर्भिस अमेरिकी संसद् (कंग्रेस) को लागि विशेष अनुसन्धान तथा विश्लेषण गर्ने एउटा महत्त्वपूर्ण सरकारी संस्था हो। यसलाई सामान्यतः अमेरिकी कंग्रेसको थिंक ट्याङ्क भनेर पनि चिनिन्छ। यो निष्पक्ष र गैरदलीय संस्था हो जसले अमेरिकाका कुनै पनि दलको पक्ष वा विपक्षमा नलागी स्वतन्त्र, वस्तुनिष्ठ र तथ्यपरक जानकारी मात्र प्रदान गर्ने विश्वास गरिन्छ ।

अमेरिकी कंग्रेसका सदस्यहरू (सिनेटर र प्रतिनिधिहरू) र विभिन्न समितिहरूलाई नयाँ कानुन बनाउँदा वा पुराना कानुन परिमार्जन गर्दा आवश्यक पर्ने गहिरो अनुसन्धान, नीतिगत प्रभाव र कानुनी सल्लाह दिने काम यसले गर्छ।

सन् १९१४ मा स्थापना भएको यो संस्था अमेरिकाको संसद्कै पुस्तकालय ‘लाइब्रेरी अफ कंग्रेस’ अन्तर्गत सञ्चालित छ।

सांसदहरूलाई जटिल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दाहरू बुझ्न र तथ्यमा आधारित रहेर सही कानुन निर्माण गर्न मद्दत गर्ने मुख्य बौद्धिक सहयोगी संस्था नै कंग्रेसनल रिसर्च सर्भिस हो। यसले सर्वसाधारणको लागि नभई प्रत्यक्ष रूपमा सांसदहरूको लागि मात्र काम गर्छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ