सर्लाही– नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशमा भ्रष्टाचार व्यापक रूपमा कायम रहेको भन्दै त्यसविरुद्ध सशक्त सुशासन अभियान सञ्चालन गर्नुपर्ने बताएका छन् ।
बर्थवा नगरपालिका–स्थित कोइरी टोलमा आयोजित निर्वाचन क्षेत्र नं. ४ को निर्वाचन परिचालन समितिको कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै श्रेष्ठले भ्रष्टाचारले देशलाई जर्जर बनाएको र जनतालाई निराश बनाएको उल्लेख गरे । उनले ‘कानुनको अगाडि सबै समान छन् भन्ने कुरा व्यवहारमै लागू हुनुपर्छ,’ भन्दै दोषी जो भए पनि कारबाही गर्नुपर्ने धारणा व्यक्त गरे।
श्रेष्ठले पछिल्लो पटक सरकारमा रहँदा भुटानी शरणार्थी प्रकरण काण्ड, ललिता निवास काण्ड, सुन तस्करी काण्ड, बाँसबारी जग्गा घोटाला प्रकरण काण्ड लगायतका प्रकरणमा अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाएको र सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गर्नेहरू विरुद्ध पनि कडा कदम चालेको उल्लेख गरे।
उनले सुशासनको अभियान अघि बढ्दै गर्दा कांग्रेस र एमालेले साथ दिनुको सट्टा अवरोध सिर्जना गरेको आरोप लगाउँदै त्यसकै कारण सरकार ढालिएको र विकास तथा समृद्धिको गति रोकिएको बताए।
श्रेष्ठले संविधान, लोकतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै सुशासन, समृद्धि र सामाजिक न्यायको पक्षमा उभिन मतदातालाई आग्रहसमेत गरे।
उनी सर्लाही निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बनेका छन्।
प्रतिक्रिया