+
Search

ताजा अपडेट +

पपुलर +

गण्डकी प्रदेशमा भानुजयन्तीमा सार्वजनिक बिदा

पालिका लाइभ
२०८२ असार २८, शनिबार

पाेखरा– भानुजयन्तीको अवसरमा गण्डकी प्रदेश सरकारले आइतबार (असार २९) गतेको सार्वजनिक बिदा दिएको छ।

गत चैत १२ गते बसेको गण्डकी मन्त्रिपरिषद्को बैठकले पोहर जस्तै भानुजयन्तीको अवसरमा प्रदेशभर रहेका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिने निर्णय गरेको हाे।

राष्ट्रिय विभूति नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यलाई गण्डकीको गौरवको रूपमा लिँदै उनको २१२ औँ जन्मजयन्तीको अवसरमा सार्वजनिक बिदा निर्णय भएको हो। भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका छन्।

वि.सं. १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मिएका भानुभक्तलाई घाँसीले राम्रो काम गरेर नाम कमाउनुपर्छ भन्ने अर्ती दिएपछि उनले रामायणलाई नेपालीमा उल्था गरेका हुन्।

भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत नेपालको एकीकरण गरेको सम्मान तथा उनी गण्डकी प्रदेशकै भएकाले प्रदेश सरकारले उनको योगदानमा सार्वजनिक बिदा दिएर सम्मान गर्दै आएको छ।

भानुभक्तका वधुशिक्षा‚ प्रश्नोत्तर, भक्तमाला, रामगीता, फुटकर रचना लगायत कृति चर्चित छन्। उनका कृतिले नेपाली समाजमा पठनपाठन र संस्कृतिको विकास गर्न तथा सांस्कृतिक, धार्मिक, सामाजिक एवम् नैतिक चेतनाको विकास गर्न ठूलो योगदान दिएका छन्।

भानुभक्तको निधन वि.सं १९२५ असोज ६ गते भएको थियो।

उनको जन्मजयन्तीको अवसरमा नेपालभित्र मात्रै नभएर नेपालीभाषी रहेका विदेशमा पनि विभिन्न कार्यक्रम गरिन्छ।

जन्मजयन्तीको अवसरमा भानुभक्त जन्मिएको भानु नगरपालिका र आदिकवि भानुभक्त जन्मस्थल विकास समितिको संयुक्त आयोजनामा उनको जन्मस्थल चुँदीरम्घमा सप्ताहव्यापी कार्यक्रम भइरहेका छन्।

कविता प्रतियोगिता, रामायण वाचन, रक्तदान, विरामीलाई फलफूल वितरण, काव्यसन्ध्या, प्रभात फेरी, दीपावली लगायतका कार्यक्रम आयोजना गरिएका हुन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ