गोरखा-अजिरकोट गाउँपालिकामा बहुप्रतीक्षित चनौटे–ढिस्का (मुच्चाेक)–भच्चेक सडकको कालोपत्रे हुने भएको छ। १९ (२०६३) वर्षअघि खोलिएको ट्र्याक अब पक्की सडकमा रूपान्तरण हुँदैछ।
शुक्रवार एक समारोहबीच गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सडकको शिलान्यास गरे। उनले यो आयोजना जनतासँग गरिएको वाचा र आफ्नो राजनीतिक उत्तरदायित्व पूरा गर्ने अवसर भएको बताए। ‘निर्वाचनको बेला हरेक वडाको एक मुख्य सडक अल वेदर रोड बनाउने संकल्प लिएको थिएँ, अहिले त्यो क्रम अगाडि बढिरहेको छ,’ उनले भने। मुख्यमन्त्रीले निर्माण कम्पनीलाई समयमै र गुणस्तरीय रूपमा काम सम्पन्न गर्न आग्रह गर्नुका साथै स्थानीयलाई निगरानी र सहकार्यमा सहभागी हुन अनुरोध पनि गरे।
अजिरकोट–५ को ढिस्कादेखि वडा नं. ३ को भच्चेक बजारसम्म फैलिएको यो १४ दशमलव ३० किलोमिटर लामो सडक योजनाको लागत ४४ करोड ३६ लाख रुपैयाँ रहेको छ। निर्माण कार्यको जिम्मेवारी एमएस खड्का/नव कान्तिपुर जेभीले लिएको छ। हालको आर्थिक वर्षमा मात्रै २० करोड रुपैयाँ बजेट विनियोजन गरिएको याे सडक ०८२ साल वैशाख २१ गते ठेक्का सम्झौता भएको हाे । आयोजनाको कार्य सम्पन्न गर्ने म्याद २०८४ असार २५ तोकिएको छ। पूर्वाधार विकास कार्यालय गोरखाका प्रमुख गणेश सुवेदीका अनुसार काम गुणस्तरीय बनाउनेतर्फ विशेष ध्यान दिइनेछ।
सडक निर्माणको क्रममा पक्की नाली, टेवा पर्खाल, आरसीसी ढलान, चौडाइ विस्तार लगायतका संरचनात्मक काम गरिने छन्। सडक सधैँ प्रयोग गर्न मिल्ने अल वेदर प्रकृतिको हुनेछ। झन्डै दुई दशकअघि खुलेको ट्र्याक अहिले आएर कालोपत्रे बन्ने प्रक्रियामा प्रवेश गरेको यो क्षणले स्थानीयहरूमा उत्साह थपेको छ। लामो समयदेखि असहज यात्रा सहँदै आएका बासिन्दाहरू अब सहज र सुरक्षित यात्राको अपेक्षामा छन्।
स्थानीय सरकारको नेतृत्व गरिरहेका गाउँपालिका अध्यक्ष दीपक देवकोटाका अनुसार यो सडक अजिरकोटको ‘मुटु’ हो। ‘हामीले योजना बनाउँदा सडकलाई प्राथमिकता दिएका थियौँ, किनभने विकासको पहिलो सिँढी यातायात हो। अहिले प्रदेश सरकारको सहयोगमा हामी त्यो सपना साकार पार्ने मोडमा छौँ,’ अध्यक्ष देवकोटाले भने। उनले यस सडकले गाउँपालिकाको आर्थिक, सामाजिक र प्रशासनिक क्रियाकलापलाई तीव्र गति दिने विश्वास व्यक्त गरे ।
सडकको निर्माणले विद्यालय जाने बालबालिका, बिरामी बोकेर स्वास्थ्य चौकी धाउने नागरिक, कृषि उपज बोकेर बजार लाग्ने किसानदेखि लिएर पर्यटकसम्मलाई फाइदा पुर्याउने छ। अझ विशेष गरेर, यसले भच्चेक बजारलाई जिल्ला सदरमुकाम र बाह्य सडक सञ्जालसँग जाेड्ने अर्को वैकल्पिक मार्गमा रूपमा हुनेछ। यसअघि चाेरकाटे-छाेप्राक-भच्चेक जोड्ने सडक पिच भइसकेको छ ।
प्रतिक्रिया