काठमाडौं– भारतका विद्युत, आवास तथा सहरी मामिला मन्त्री मनोहरलाल खट्टर आज नेपाल आइपुगेका छन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा उनी मंगलबार बिहान २ दिने नेपाल भ्रमणका लागि नेपाल आएका हुन।
विद्युतमन्त्री खट्टरले मंगलबार दिउँसो भारत सरकारको सहयोगमा निर्माण सम्पन्न कोशी कोरिडोर २२० केभी प्रसारण लाइन अन्तर्गत इनरुवा–वसन्तपुर–बानेश्वर–तुम्लिङटार प्रसारण लाइन तथा २२०/१३३/३३ केभी तुम्लिङटार सबस्टेसन, २२०/३३ केभी बानेश्वर सबस्टेसन र २२०/१३३/३३ केभी वसन्तपुर सबस्टेसनको संयुक्त रूपमा सङ्खुवासभाको तुम्लिङटार सब स्टेसनमा उद्घाटन गर्नेछन् ।
आजै भारतीय लगानीमा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको पावर हाउस तथा बाँध क्षेत्रको अवलोकन गर्ने कार्यक्रमसमेत रहेको छ । सोही दिन दुई देशले संयुक्त रूपमा निर्माण गर्न लागेको प्रसारण लाइन निर्माणका लागि स्थापना गरिएको कम्पनीको सम्झौता पत्रमा हस्ताक्षर हुने मन्त्री खड्काको निजी सचिवालयले जनाएको छ ।
मंगलबार नै मन्त्रीद्वयको उपस्थितिमा नेपाल विद्युत् प्राधिकरण र भारतको पावर ग्रिड कर्पोरेसन इन्डियाबीच दुई अन्तर्देशीय प्रशारण लाइन निर्माणका लागि समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रमसमेत तय भएको छ ।
बुधवार खट्टर मुस्ताङको मुक्तिनाथ क्षेत्रको अवलोकन भ्रमण गर्ने कार्यक्रम छ । सोही दिन उनले प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम तय गरिएको छ ।
विद्युतमन्त्री खट्टरले सोही दिन साँझ पशुपतिनाथको दर्शन गरेर स्वदेश फर्कने कार्यक्रम रहेको जनाइएको छ ।
प्रतिक्रिया