+
Search

ताजा अपडेट +

पपुलर +

तीन तहको सरकारबीच तालमेल मिले विकासको रफ्तार बढ्छ : प्रकाशशरण महत

पालिका लाइभ
२०८१ चैत्र २९, शुक्रबार

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले तीनै तहको सरकारबीच तालमेल मिलाएर काम गर्न सके विकासको रफ्तार बढ्ने बताएका छन् ।

शुक्रवार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै डा.महतले मझौला योजनाहरूलाई प्रदेश सरकारको नेतृत्वमा गर्नुपर्ने धारणा राखे ।

उनले साना योजना स्थानीय तह र ठुला योजना केन्द्र सरकारले मात्र गर्ने गरी तालमेल मिलाएर काम गर्न सके देशमा विकासको रफ्तार अझ बढ्ने बताए ।

उनले तीनै तहको सरकारबीच समन्वय मिलाउन सकेमा सुशासन सुनिश्चित हुनुका साथै जनताका आवश्यकता र अधिकारलाई कार्यान्वयन गर्न सजिलो हुने उल्लेख गरे ।

कांग्रेसले अहिले आर्थिक नीतिलाई लगानीमैत्री र रोजगारीमैत्री बनाउनेतर्फ लागेको डा.महतले जानकारी दिए । उनले कानुनी शासन अझ सार्थक बनाउन, संस्थागत गर्न, पारदर्शिता सुनिश्चित गर्न र भ्रष्टाचारलाई ठाडै नकार्ने लक्ष्यका साथ नेपाली कांग्रेसले काम गरिरहेको बताए ।

डा. महतले तराई क्षेत्रमा कृषिको रूपान्तरण र उद्योग व्यवसायीको विकासतर्फ कांग्रेस गम्भीर रहेको धारणा राखे । उनले सिँचाइको समस्या समाधानका लागि कमला डाइभर्सन र मरिन डाइभर्सनले ठुलो भूमिका खेल्ने बताए । उनले बिउ बिजन र मलको समस्या समाधान गर्न सरकारले पाँचवटा नयाँ कानुन पारित गरेको जानकारी दिए ।

उनले जनकपुरधामको सरसफाइ र हरियालीमा ध्यान दिन मेयर मनोज कुमार साहसँग आग्रहसमेत गरे । उनले जनकपुरधाम धार्मिक नगरी भएकोले यहाँको सरसफाइमा ध्यान दिए यस ठाउँको गरिमा अझ बढ्ने बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ