+
Search

ताजा अपडेट +

पपुलर +

वाणिज्य बैंकहरुको मुनाफा

वाणिज्य बैंकहरूको मुनाफामा ठूलाे अन्तर: कसले कमायो, कसले गुमायो?

पालिका लाइभ
२०८१ चैत्र २७, बुधबार

काठमाडाैं– आर्थिक सुस्तीकाबीच राष्ट्र बैंकले लिएको लचिलो नीतिका कारण चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा वाणिज्य बैंकहरूले समग्र रूपमा २.८१ प्रतिशत मुनाफा वृद्धि गरेका छन्। तर, यो वृद्धि सबै बैंकमा समानरूपमा देखिएको छैन। केही बैंकहरूले दोब्बर नाफा कमाएका छन् भने केही ठुला बैंकहरू घाटामा गएका छन्।

राष्ट्र बैंकको तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकले आठ महिनामा कुल ४३ अर्ब ४९ करोड रुपैयाँ मुनाफा गरेका छन्। गत वर्षको सोही अवधिमा यो मुनाफा ४२ अर्ब ३० करोड रुपैयाँ थियो। यद्यपि, बैंकहरूबीच मुनाफाको असमानता उल्लेखनीय रूपमा देखिएको छ।

नेपाल बैंकको नाफा सबैभन्दा धेरै १३२.९ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्षको तुलनामा झन्डै दुई अर्ब ९८ करोड रुपैयाँ नाफामा रहेकाे बैंकले आफ्नो वित्तीय अवस्था उल्लेखनीय रूपमा सुधार गरेको देखिन्छ। धेरै नाफा गर्नेमा नबिल बैंक छ। नबिलले ४ अर्ब ७८ करोड रुपैयाँ नाफा गरेको छ। राष्ट्र बैंकले कर्जा नोक्सानी व्यवस्था १.१० प्रतिशतबाट घटाएर १ प्रतिशतमा झारेका कारण नाफा बढेको बैंकरहरू बताउँछन्।

मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षामार्फत राष्ट्र बैंकले कर्जा नोक्सानी व्यवस्था घटाएको थियो। राष्ट्रिय वाणिज्य, हिमालयन, एनआइसी एशिया, माछापुच्छ्रे, कुमारी, सिद्धार्थ, कृषि, सिटिजन्स र प्राइम बैंकको नाफा भने खुम्चिएको छ।

त्यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पनि ४५.६८ प्रतिशतको उल्लेखनीय वृद्धि गर्दै ४ अर्ब ८ करोड रुपैयाँ मुनाफा कमाएको छ। ग्लोबल आइएमई बैंकले ३७.७६ प्रतिशतले मुनाफा वृद्धि गर्दै आफ्नो स्थायित्व बलियो बनाएको छ भने, एनएमबि बैंकको नाफा ४१.११ प्रतिशत र प्रभु बैंकको नाफा ३९.६५ प्रतिशतले बढेको छ।

एनआइसी एशिया बैंकको मुनाफामा चालु आर्थिक वर्षको आठ महिनामा सबैभन्दा ठूलो गिरावट देखिएको छ। अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ५४ करोड रुपैयाँभन्दा बढी नाफा कमाएको बैंकको मुनाफा यस वर्ष ८१ करोड रुपैयाँमा झरेको छ, जुन ६७.७५ प्रतिशतको गिरावट हो। यो समग्र वाणिज्य बैंकहरूमध्ये सबैभन्दा ठूलो प्रतिशतीय घटावट हो। बैंकको मुनाफामा आएको यस्तो गिरावटको कारणमा खराब कर्जा वृद्धि, ब्याज आम्दानीमा कमी र सञ्चालन खर्चको बढ्दो दबाब हुन सक्ने अनुमान विश्लेषकहरूले गरेका छन्।

कृषि विकास बैंकको मुनाफा ६२.६६ प्रतिशतले घटेको छ भने राष्ट्रिय वाणिज्य बैंकले पनि ४०.०९ प्रतिशत मुनाफा गुमाएको छ।

एकातिर केही बैंकले आन्तरिक व्यवस्थापन सुधार, डिजिटल सेवा विस्तार र मर्जर/एक्विजिसनको प्रभावबाट लाभ लिइरहेका छन् भने अर्कोतर्फ खर्च व्यवस्थापनमा चुनौती खेपिरहेका बैंकहरू घाटा बेहोर्न बाध्य छन्।

पूर्ण विवरण:

बैंक २०८१/८२ (लाख रु.) २०८०/८१ (लाख रु.) वृद्धि/घटावट (%)
नेपाल बैंक २,९८७.९६ १,२८२.९५ +१३२.९
राष्ट्रिय वाणिज्य १,७२३.९६ २,८७७.६६ –४०.०९
नबिल ४,७८७.६८ ४,७२४.२१ +१.३४
नेपाल इन्भेष्टमेन्ट मेगा ४,०८५.७३ २,८०४.५३ +४५.६८
स्टान्डर्ड चार्टर्ड २,१७५.२७ २,०८९.६७ +४.१
हिमालयन १,६६९.७८ १,९४८.३६ –१४.३
नेपाल एसबिआइ १,२४९.०५ १,००८.०२ +२३.९१
एभरेष्ट ३,००८.८६ २,२९३.४७ +३१.१९
एनआइसी एशिया ८१९.९९ २,५४२.४४ –६७.७५
माछापुच्छ्रे १,१६२.२७ १,१६४.८४ –०.२२
कुमारी ९६९.११ १,४२४.६७ –३१.९८
लक्ष्मी १,९९२.७२ १,८२०.६८ +९.४५
सिद्धार्थ १,२१६.९३ १,६९६.५४ –२८.२७
कृषि विकास ७३८.०३ १,९७६.७६ –६२.६६
ग्लोबल आइएमई ४,७२९.४८ ३,४३३.०९ +३७.७६
सिटिजन्स १,१६१.६० १,२२६.५३ –५.२९
प्राइम २,५०३.०६ २,८८७.८० –१३.३२
एनएमबि २,७१६.७१ १,९२५.२८ +४१.११
प्रभु २,११५.०६ १,५१४.५८ +३९.६५
सानिमा १,६८३.२२ १,६६४.८२ +१.११

स्राेत : राष्ट्र बैंक

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ