+
Search

ताजा अपडेट +

पपुलर +

१२ दिनमा १३ लाख किशोरीलाई लगाइयो एचपीभी खोप

पालिका लाइभ
२०८१ फाल्गुन ४, आईतवार

काठमाडौं– पाठेघरको मुखको क्यान्सरबाट बचाउने उद्देश्यले स्वास्थ्य मन्त्रालयले सञ्चालन गरेको एचपीभी खोप अभियानबाट १३ लाख किशोरीले खोप प्राप्त गरेका छन् । अभियानको १२ औँ दिन शनिवारसम्म उल्लिखित परिमाणमा किशोरीहरूले खोप प्राप्त गरेको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा प्रमुख डा. विवेककुमार लालले जानकारी दिए ।

स्वास्थ्य मन्त्री प्रदीप पौडेलले हालसम्म अभियानलाई सफल पार्न खट्ने सबै स्वास्थ्यकर्मीहरू, स्वयंसेवक, सहयोगी विद्यालय लगायत सबै सहयात्रीहरूलाई अनवरत मेहनतका लागि भन्दै धन्यवाद ज्ञापन गरेका छन् । माघ २२ गते सुरु भएको अभियान फागुन ६ गतेसम्म चल्नेछ ।

अभियानका क्रममा कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा र १० देखि १४ वर्षका किशोरीहरूलाई स्थानीय तहमा रहेका केन्द्रहरूमार्फत खोप प्रदान गरिएको छ । अबको अवधिमा छुटेकाको पहिचान गरी खोप प्रदान गरिने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए । अभियानका क्रममा करिब १७ लाख किशोरीलाई खोप दिने लक्ष्य राखिएको छ ।

मन्त्री पौडेलले पदभार सम्हालेपछि पहिलो निर्णय राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति स्वीकृत गरेका थिए । त्यसयता क्यान्सरको उपचार सातै प्रदेशमा पुर्‍याउने निर्णय कार्यान्वयनमा आइसकेको छ । क्यान्सरविरुद्ध निरोधात्मक विधि प्रवर्द्धन गर्ने मन्त्री पौडेलले घोषणा गरेको योजना तथा प्राथमिकतामा उल्लेख छ । सोही अनुसार किशोरीहरूलाई खोप दिने कार्यक्रम अघि बढाइएको प्रवक्ता बुढाथोकीले बताए ।

नेपालमा पाठेघरको मुखको क्यान्सरका कारण ज्यान जाने महिलाहरूको सङ्ख्या उच्च छ । सानै उमेरमा खोप प्रदान गरेर यो समस्या कम गर्ने योजनाअनुसार निरोधात्मक विधिअन्तर्गतका कार्यक्रमसमेत अघि बढिरहेको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ