काठमाडौं- आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत माट्रिका आइ सेन्टरसँग सहकार्य गर्दै आर्थिक अभावका कारण उपचारबाट वञ्चित १०० जना मोतिबिन्दुका बिरामीको निःशुल्क शल्यक्रियाका लागि सहयोग गरेको छ।
जनकपुरमा सञ्चालन हुने उक्त कार्यक्रमका लागि कम्पनीले ६ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको जनाएको छ। यसबाट धनुषा र महोत्तरी जिल्लाका ग्रामीण भेगका १०० जना मोतिबिन्दु पीडित प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ।
माट्रिका आइ सेन्टरले विगतदेखि नै देशका विभिन्न जिल्लामा आँखा सम्बन्धी स्वास्थ्य सेवा, मोतिबिन्दु पहिचान तथा शल्यक्रिया कार्यक्रम सञ्चालन गर्दै आएको छ। सेन्टरको अनुभव र विशेषज्ञतासँग आईएमई लाइफ इन्स्योरेन्सको सामाजिक प्रतिबद्धता जोडिँदा समुदायमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।
आईएमई लाइफ इन्स्योरेन्सका उप कार्यकारी प्रमुख खिलेन्द्र पौडेलले कम्पनीले स्वास्थ्य, शिक्षा तथा समुदाय विकासका क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत निरन्तर योगदान गर्दै आएको बताए। उनले यस सहकार्यले आर्थिक अभावका कारण दृष्टि गुमाउने जोखिममा रहेका विपन्न नागरिकलाई नयाँ आशा प्रदान गर्ने विश्वास व्यक्त गरे।
त्यसैगरी, माट्रिका आइ सेन्टरका अध्यक्ष सूरज श्रेष्ठले आईएमई लाइफ इन्स्योरेन्सको सहयोगप्रति आभार व्यक्त गर्दै कार्यक्रमले ग्रामीण क्षेत्रका सयौँ विपन्न परिवारको जीवनमा सकारात्मक परिवर्तन ल्याउने बताए।
आईएमई लाइफ इन्स्योरेन्सले ‘Ensuring Future’ भन्ने आफ्नो मूल मन्त्रअनुसार शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता तथा समुदाय उत्थानका क्षेत्रमा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ।
प्रतिक्रिया