+
Search

ताजा अपडेट +

पपुलर +

ऋण तिर्न जाँदा सिद्धार्थ बैंकले आफ्नो जग्गा लिलामीमा चढाइसकेको थाहा पाएपछि… (भिडिओ)

पालिका लाइभ
२०८१ पुष १२, शुक्रबार

काठमाडौं– जनकपुरधामस्थित सिद्धार्थ बैंकको शाखामा जग्गा लिलामीसम्बन्धी विवाद चर्किएपछि स्थानीय व्यापारी र सर्वसाधारणले विरोध प्रदर्शन गरेका छन्। घटनापछि प्रहरीले बैंकका शाखा प्रबन्धक र लोन अधिकृतलाई सुरक्षा व्यवस्थापनका लागि नियन्त्रणमा लिएको जनाएको छ।

जनकपुरधामको मिल्स एरियास्थित सिद्धार्थ बैंक शाखामा एक ऋणीको जग्गा लिलामी गरिएको विषयलाई लिएर बिहीबार बिहानदेखि स्थानीय व्यापारीहरूले विरोध प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा प्रहरीले बैंकका कर्मचारीलाई सुरक्षित स्थानमा लगेको थियो।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक बरुणबहादुर क्षेत्रीका अनुसार बैंक शाखामा प्रदर्शन भइरहेको सूचना पाएपछि कर्मचारीहरूको सुरक्षाका लागि उनीहरूलाई प्रहरीको निगरानीमा राखिएको हो। यता, सिद्धार्थ बैंकका केन्द्रीय व्यवस्थापन प्रमुख सुरेजराज महर्जनले बैंकका कर्मचारी पक्राउ नभएको स्पष्ट पार्दै सुरक्षाका लागि मात्र प्रहरीले उद्धार गरेर सुरक्षित स्थानमा लगेको बताएका छन्।

जनकपुरधामको भ्रमरपुरा चोकस्थित लक्ष्मी ट्रेडर्सका सञ्चालक दिनेश राय कुर्मीले सिद्धार्थ बैंकको मिल्स एरिया शाखाबाट ३५ लाख रुपैयाँ व्यवसायिक कर्जा र आफ्नी भाउजूको नाममा महेन्द्रनगर शाखाबाट ४५ लाख रुपैयाँ व्यक्तिगत कर्जा लिएको बताएका छन्।

उनका अनुसार आफूले नियमित रूपमा ब्याज भुक्तानी गर्दै आएको भए पनि परिवारका एक सदस्य प्यारालाइसिस भएपछि उपचारका लागि बाहिर जानुपर्दा केही समय किस्ता व्यवस्थापन गर्न नसकेको अवस्थामा बैंकले आफ्नो जग्गा लिलामी गरेको हो। रायले करोडौँ रुपैयाँ मूल्य बराबरको जग्गा बिना पर्याप्त जानकारी बिक्री गरिएको आरोप लगाएका छन्। उनले यस विषयमा जनकपुरधाम उद्योग वाणिज्य संघमार्फत सहयोगको माग गरेका थिए।

जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीका अनुसार बैंकसँग भएको छलफलमा २४ घण्टाभित्र सम्पूर्ण बक्यौता रकम बुझाए जग्गा फिर्ता गरिने प्रतिबद्धता जनाइएको थियो। तर पछि बैंकले उक्त प्रतिबद्धताबाट पछि हटेको र मालपोत कार्यालयमा बुझ्दा जग्गा अर्कै व्यक्तिको नाममा नामसारी भइसकेको जानकारी प्राप्त भएको उनले बताए।

भण्डारीले मालपोत कार्यालय र बैंकबीच मिलेमतो भएको आशंका व्यक्त गरेका छन्। साथै, यस विषयमा जिल्ला प्रहरी कार्यालयसँग पनि छलफल गर्दा सन्तोषजनक जवाफ नपाएको उनको भनाइ छ।

यस घटनापछि केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा ‘सिद्धार्थ बैंकका शाखा प्रबन्धक पक्राउ’ भन्ने समाचार प्रकाशित भएपछि बैंकले विज्ञप्तिमार्फत त्यसको खण्डन गरेको छ।

बैंकका अनुसार सम्बन्धित ऋणीहरूले लिएको कर्जाको सावाँ तथा ब्याज लामो समयसम्म भुक्तानी नगरेपछि पटक–पटक मौखिक तथा लिखित रूपमा जानकारी गराइएको थियो। साथै, ३५ दिने सार्वजनिक सूचना जारी गरिए पनि कर्जा चुक्ता नभएकाले प्रचलित कानून तथा बैंकिङ प्रक्रियाअनुसार धितो लिलामी गरिएको जनाएको छ।

बैंकले लिलामी प्रक्रियापछि असन्तुष्ट ऋणी पक्षले पुस ११, १२ र १४ गते विद्यापति चोक, रामानन्द चोक तथा जनकपुर शाखामा धर्ना तथा अवरोध सिर्जना गरेको उल्लेख गरेको छ।

विज्ञप्तिमा बैंकका कर्मचारी पक्राउ नभई दुवै पक्षबीच छलफल गराउन प्रहरी चौकीमा लगिएको र सोही क्रममा खिचिएको भिडियो सामाजिक सञ्जालमा ‘प्रबन्धक पक्राउ’ भन्दै प्रचार गरिएको दाबी गरिएको छ।

बैंकले सम्पूर्ण प्रक्रिया कानून र बैंकिङ अभ्यासअनुसार सम्पन्न भएको दोहोर्याउँदै लिलामीप्रति असहमति भए कानुनी उपचारको बाटो खुला रहेको जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ