+
Search

ताजा अपडेट +

पपुलर +

तीनै तहका सरकारलाई अख्तियारले भन्यो– आईटी क्षेत्रमा भ्रष्टाचार बढ्यो, सजगता अपनाउनू

पालिका लाइभ
२०८० माघ २६, शुक्रबार

काठमाडौं– सूचना प्रविधि (आईटी) को क्षेत्रमा एकपछि अर्को अनियमितता भेटिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यससम्बन्धी खरिद तथा सञ्चालनमा सजगता अपनाउन तीनै तहका सरकारको ध्यानाकर्षण गराएको छ ।

अख्तियारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मार्फत सबै संघीय मन्त्रालयहरु, प्रदेश सरकार र स्थानीय तहहरुलाई समेत यसबारे परिपत्र गर्न भनेको छ ।

मुलुकको सीमित स्रोतसाधनको अत्यधिक दोहन गरी सूचना प्रविधिसँग सम्बन्धित खरिदमा बेथिती देखिएको र उजुरीहरुको विश्लेषण गर्दा भ्रष्टाचारको प्रवल सम्भावना रहेको भन्दै अख्तियारले सरोकारवालालाई १० बुँदे ध्यानाकर्षणपत्र पठाएको हो ।

सूचना प्रविधि क्षेत्र क्लिष्ट र प्राविधिक हुने अनि यसमा आम सर्वसाधारणको चासो पनि नहुने अवस्थाको फाइदा उठाउँदै स्वार्थ समूहले जथाभावी काम गरेको र राज्यकोषमा नोक्सान देखिएको भन्दै अख्तियारले यसवारे नीतिगत सुधार हुनुपर्ने औंल्याएको छ ।

सूचना प्रविधिको विषय अति प्राविधिक हुने र यससम्बन्धी खरिद तथा विकासका कामहरु भ्रष्टाचारका दृष्टिले जोखिमपूर्ण देखिने भन्दै अख्तियारले परिपत्रमा भनेको छ, ‘सूचना प्रविधिमा निहित प्रविधिको क्लिष्टता र सार्वजनिक क्षेत्रमा रहेको यसप्रतिको अनभिज्ञताको अनुचित उपयोग गरी गम्भीर प्रकृतिका भ्रष्टाचारजन्य कार्य हुनसक्ने देखिएको…।’

अख्तियारले प्रणालीको डिजाइन, विस्तृत परियोजना प्रतिवेदन, लागत अनुमान र मर्मत सम्भारको काममा एकरुपता ल्याउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहत रहने गरी यससम्बन्धी एउटा निकाय तोक्न पनि भनेको छ ।

अख्तियारले सूचना प्रविधिमा आधारित अत्यावश्यक र राष्ट्रिय महत्वका सेवाहरुको आन्तरिक र तेस्रो पक्षीय परीक्षण (आईटी अडिट) गराउनसमेत भनेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ