वीरगन्ज- वीरगन्ज महानगरपालिकामा मेयर र उपमेयरबीचको विवाद चर्किएपछि कार्यालयमै झडप भएको छ। मंगलबार दिउँसो पुरानो भवनमा रहेको कोठामा सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा सार्ने विषयमा विवाद भएको थियो।
विवाद बढ्दै गएपछि महानगरपालिका कार्यलयमा मेयर र उपेमयर दुवै पक्षका समर्थकहरू भेला भएका थिए। समर्थकबीच झडपको अवस्था सिर्जना भएपछि स्थिति नियन्त्रणमा लिनका लागि प्रहरी परिचालन गरिएको छ।
प्रमुख कार्यकारी अधिकृतको कार्यलय नयाँ भवनमा सरेपछि त्यहाँ आफ्नो कार्यालय हुनपर्ने उपमेयर इम्तियाज आलमले बताएका थिए।
तर, सो भवनमा सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा सार्ने तयारी गरेपछि केहीबेर विवाद भएको प्रमुख प्रशासकिय अधिकृत मातृका भट्टराईले जानकारी दिए।
उनका अनसार अहिले विवाद समाधान गर्नेगरी छलफल भइसकेको छ। ‘केही दिनमा हाम्रो कार्यपालिका बैठक बस्दैछ, आजको विवादबारे त्यहीँ छलफल गर्ने कुरा भएको छ,’ उनले भने।
नवनिर्मित भवनको तेस्रो तल्लामा केही दिन अघि मेयर राजेशमान सिंहको कार्यालय सरेको थियो। मेयर सिंहको कार्यालय त्यहाँ सरेपछि खाली भएको सो कोठामा प्रमुख प्रशासकिय अधिकृतको कार्यालय सारिएको थियो।
गत स्थानीय तहको निर्वाचनमा यहाँ कांग्रेस र जसपाबीच गठबन्धन भएको थियो। मेयरमा जसपाका सिंह र उपमेयरमा कांग्रेसका आलम विजयी भएका थिए।
प्रतिक्रिया