+
Search

ताजा अपडेट +

पपुलर +

आइसोलेसनमा बस्नेहरुको गुनासो- ‘कहिले खुर्सानीसँग त कहिले महसँग खाना खार्नुपरेकाे छ’

पालिका लाइभ
२०७७ भाद्र १७, बुधबार

दमौली– तनहुँको व्यास नगरपालिका–३ स्थित व्यास गुफा नजिकै रहेको दमौली अस्पतालको कोरोना सङ्क्रमितले निस्तै खाना खानुपर्ने बाध्यता रहेको गुनासो गरेका छन् ।

कोरोना सङ्क्रमण पुष्टि भएर आइसोलेसनमा बसेका सङ्क्रमितले खानासँग तरकारी निकै कम दिने गरेकाले निस्तै खाना खानुपर्ने बाध्यता रहेको गुनासो गरेका हुन् ।

व्यास नगरपालिका–३ का एक सङ्क्रमितले खाना पर्याप्त भएपनि तरकारी कम मात्रामा दिने गरेको बताए ।

‘खाना त पुग्दो मात्रामा पाइरहेका छौँ तर दाल तरकारी एकदमै कम मात्रै दिन्छन्, खाना राम्ररी खान पनि पुग्दैन’ उनले भने, ‘कहिलेकाँही त निस्तै पनि खाना खानुपर्ने बाध्यता हुन्छ ।’

उनका अनुसार तरकारी नपुगेर कतिपयले खाना नै छाडेका छन् । ‘मैले त कहिले खुर्सानीसँग त कहिले महसँग खाना खाने गरेको छु’ उनले भने, ‘यस विषयमा वडाध्यक्षलाई पनि पटकपटक भनेपनि कुनै सुनुवाइ भएन ।’

उनका अनुसार कहिलेकाँही निस्तो खाना नरुचेपछि बिस्कुट र स्याउ खाएर भोक मेटाउने गरिएको छ । ‘निस्तो खाना रुच्दैन, खाना नै फाल्नुपर्ने अवस्था पनि आएको छ । भोक लाग्छ अनि बिस्कुटलगायत खानेकुरा खाएर भएपनि भोक मेट्छौ’ उनले भने ।

आइसोलेसनमा बस्नेलाई बिहान चिया, बिस्कुट, चना अण्डा दिने गरिएको छ । त्यस्तै बिहान ११ बजेभित्र खाना, दिउँसो खाजा र बेलुका पुनः खानाको व्यवस्था गरिएको छ । त्यस्तै कुनै बेला मासु पनि दिने गरेको आइसोलेसनमा बस्नेले बताउनुभयो । सो आइसोलेसनमा अहिले १५ जना सङ्क्रमित छन् ।

तीमध्ये कतिपयलाई खोकी लागिरहेको छ । तरपनि अहिलेसम्म डाक्टर नआएको गुनासो छ । ‘म भदौ ११ गतेदेखि आइसोलेसनमा छु, डाक्टरको मुख पनि देख्न पाएका छैनौँ’ उनले भने ‘एक जना महिला स्वास्थ्यकर्मी र सरसफाइ गर्ने मानिस मात्रै छन् ।’ उनका अनुसार आइसोलेसनमा शौचालयको व्यवस्था भने राम्रो रहेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले धेरै जना हुँदा अलि अलि तरकारी कम हुनु स्वभाविक रहेपनि यसलाई सुधार गरिने जानकारी दिए । दमौलीस्थित एक होटलबाट आइसोलेसनमा रहेकालाई खानाको व्यवस्थापन हुँदै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ