+
Search

ताजा अपडेट +

पपुलर +

हुप्सेकोट गाउँपालिकाद्धारा दूध उत्पादक किसानलाई प्रतिलिटर २० रुपैया अनुदान

पालिका लाइभ
२०८१ कार्तिक २६, सोमबार

नवलपरासी – नवलपरासी बर्दघाट सुस्तापूर्वको हुप्सेकोट गाउँपालिकाले दूध उत्पादक किसानलाई प्रतिलिटर रु २० अनुदान दिने भएको छ ।

गाउँपालिकाले गत आर्थिक वर्षसम्म प्रतिलिटर सात रुपैयाँ पचास पैसा अनुदान दिँदै आएकोमा चालु आर्थिक वर्षदेखि अनुदान रकम वृद्धि गरी प्रतिलिटर २० पुर्‍याइएको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताइन् ।

अनुदान रकम साना किसानसम्म पुर्‍याउन एक आवमा सहकारीमार्फत बिक्री गरेको दूधको परिमाण अनुसार अनुदान रकम प्रदान गरिने गाउँपालिकाका अध्यक्ष पाण्डेले बताइन् ।  चालु आवका लागि दूधमा अनुदान कार्यक्रमअन्तर्गत २५ लाख बजेट विनियोजन गरिएको छ ।

गाउँपालिकाको आव २०८१/८२ को नीति कार्यक्रम एवं बजेटमा गाउँपालिकाभित्रका दुग्ध सहकारीमा किसानले बिक्री गरेको प्रतिलिटर दूधमा २० नगद अनुदान दिने उल्लेख गरिएको छ । दूध उत्पादन वृद्धि गर्न गाउँपालिकाले आव २०७८/७९ देखि प्रतिलिटर पाँच अनुदान दिन सुरु गरेकोमा चालु आवमा अनुदान रकम उल्लेख्य वृद्धि गरिएको हो ।

‘आव २०८०र८१ मा कूल ७५ हजार दुई सय दुई लिटर दूधमा कूल रु पाँच लाख ६४ हजार १२ अनुदान रकम किसानलाई वितरण गरिएको छ’, उनले भने, ‘आव २०७९र८० मा कूल ५७ हजार तीन सय २३ लिटर दूधमा प्रतिलिटर रु पाँचको दरले रु दुई लाख ८६ हजार छ सय १९ अनुदान रकम प्रदान गरिएको थियो ।’

उत्पादनको आधारमा अनुदान दिँदा साना किसान लाभान्वित भएको गाउँपालिका अध्यक्ष पाण्डेको भनाइ छ । उत्पादनका आधारमा दूधमा अनुदान वितरण गर्न थाले पछि दूध उत्पादन र पशु पाल्ने किसानको सङ्ख्या वृद्धि भएको उनले बताइन् ।

गाउँपालिकाले गत आवमा प्रतिलिटर १० अनुदान रकम उपलब्ध गराउने घोषणा गरे पनि गण्डकी प्रदेश सरकारले पनि दूधमा अनुदान रकम उपलब्ध गराएकाले प्रदेशबाट किसानलाई प्राप्त अनुदान रकम घटाएर प्रतिलिटर १० हुने गरी अनुदान वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद पराजुलीले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ