+
Search

ताजा अपडेट +

पपुलर +

गोरखाका कच्ची सडकमा जिपको मनोमानी, चढ्यो कि हजार !

पालिका लाइभ
२०७५ असार ३१, आईतवार

गोरखा– गोरखाका कच्ची सडकहरूमा मनोमानी रूपले भाडा असुली गरेको गुनासो बढेको छ । गोरखामा रहेका ९ कच्ची सडकखण्ड अन्तर्गत ११ किलो भालुश्वाँरा सडक खण्ड, १२ किलो, छेवेटार, चोरकाटे हुँदै भच्चेक सडकखण्डमा बढी मात्रामा यात्रुसँग मनोमानी भाडा असुल गरेको गुनासो आएको हो ।

अहिले १२ किलो बजारमा दैनिक करिब २० का हाराहारीमा जिपहरू पाइन्छ । यिनीहरूले प्राय भच्चेक, हर्मी, छोप्राक लगायतका स्थानमा जाने आउने गर्छन् । प्राय जसो भच्चेक चल्ने जिपले प्रत्येक यात्रु १ हजार भनेर चढाउँछन् ।

१२ किलो बजारबाट चोरकाटे, छोप्राक, धारापानि र भच्चेकमा प्रहरी भएता पनि उनीहरूलाई कसैले केही भन्छन्, नाम नबताउने सर्तमा एक यात्रुले भने । यिनीहरूले १२ किलोमा रहेका ट्राफिक प्रहरीलाई केही मात्रामा पैसा दिन्छन् ।

चढ्यो की हजार

‘बस चल्न छोडिगयो, जिपले चढ्ने बित्तिकै एक हजार देखि १५ सय रुपैयाँसम्म भाडा माग्छ’ गोरखाको सिरानचोक गाउँपालिका २ थालाजुङ्गमा भेटिएका सन्त बहादुर गुरुङले भने ।

केही दिन यता परेको अविरल वर्षापछि गोरखाको छोप्राक, थालाजुङ्ग हुँदै भच्चेक, १२ किलोबाट बारपाक लगायतका कच्ची सडकहरूमा जिप व्यवसायीको मनोमानी सुरु भएको छ । अहिले १२ किलो बजारमा लाम लागेका जिपहरूले यात्रुबाट मनपर्दी भाडा असुल्ने गरेका छन् ।

‘चित्रेपोखरी, थालाजुङ, धारापानी, भच्चेक जहाँ झरे पनि १ हजार भाडा लिन्छ’ धारापानीमा भेटिएकी सिरानचोक १ कि कालीमायाँ गुरुङले भनिन् ।

यसअघि गोरखा यातायातबाट सञ्चालित बसहरूले उक्त सडकमा यात्रा गर्दा १२ किलोबाट भच्चेक बजारसम्म प्रतिव्यक्ति २२० रुपियाँ मात्र भाडा लिने गर्थ्यो । अहिले जिप व्यवसायी हरूले त्यसको ४ गुणा बढी लिने गरेको पाइएको छ ।

रातो नम्बर प्लेटका जिपहरूको मनोमानी

रातो नम्बर प्लेट रहेका जिपहरूले विना अनुमति प्रहरीकै अगाडि एउटा जिपमा १० जनासम्म यात्रु कोचेर ल्याउने लैजाने गरिरहेको छ। बर्खा लागेसँगै कच्ची सडकमा गुड्ने सार्वजनिक बसहरू थन्किएपछि जिपहरूको मनोमानी बढेको हो।

यातायातको अन्य विकल्प नभएपछि जोखिम मोलेरै भए पनि जिपमा यात्रा गर्न बाध्य भएका यात्रुले भाडा दर भने साह्रै बढी भएको गुनासो गरेका छन्। ‘यस्तो बाटो छ । ५०० सम्म त ठिकै हो। तर हजार हजार भन्छ’ उनले भने। यसरी जिप व्यवसायीहरूले मनोमानी गर्दा पनि उनीहरूलाई कानुनी दायरामा ल्याउन नियमन निकायले वास्ता गरेको छैन।

यता व्यवसायीहरूले भने यात्रुलाई सुविधा दिन जोखिम मोलेरै भए पनि जिप चलाएको दाबी गरेका छन्। आफ्नो लगानीलाई जोखिम राखेर सुविधा दिएको उनीहरूको दाबी छ। हरेक दिन १२ किलो चोक भन्दा केही अगाडि झन्डै एक दर्जन जिपहरू यात्रुको प्रतीक्षामा बसिरहेका भेटिन्छन्।

जिल्ला ट्राफिक कार्यालय गोरखाका प्रमुख दयाराम पौडेलले भने यात्रु ठगिएको जानकारी पाए कारबाही गर्ने बताउँछन्।
सार्वजनिक सवारीसाधन व्यवस्थित गर्न कच्ची सडक भए पनि मापदण्ड हेरेर ‘रुट पर्मिट’ को व्यवस्था गरिएको छ ।

९ वटा सडकलाई ‘रुट पर्मिट’ कायम कायम भएको छ । भच्चेक, बारपाक, आरूघाट, मनकामना, पालुङटार जोड्ने मुख्य मुख्य कच्ची सडकमा ‘रुट पर्मिट’ लागू गरिएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ