काठमाडौं– रसुवामा आएको भीषण बाढीपछि सरकारले उद्धार, सुरक्षित स्थानान्तरण र राहत कार्यलाई तीव्रता दिने निर्णय गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले बाढीबाट उत्पन्न परिस्थितिको समीक्षा गर्दै प्रभावित क्षेत्रमा तत्काल आवश्यक काम अघि बढाउने निर्णय गरेको हो।
कानुनमन्त्री सोविता गौतमका अनुसार बैठकले उद्धार, सुरक्षित स्थानान्तरण, राहत, सूचना तथा सञ्चार, स्वास्थ्य सेवा र आवश्यक पूर्वाधार निर्माणका लागि सम्बन्धित मन्त्रालयलाई समन्वय गरी काम अघि बढाउन निर्देशन दिएको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि आवश्यक बजेटको अभाव हुन नदिन पनि सरकारले सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ। ‘आवश्यक बजेट, पूर्वाधार निर्माणलगायतका विषयमा समन्वय गर्न सम्बन्धित मन्त्रालयहरूले कार्य प्रारम्भ गर्ने निर्णय भएको छ,’ उनले भनिन्।
मन्त्रिपरिषद् बैठकमा रसुवामा बुधबार बिहान आएको बाढीबाट उत्पन्न परिस्थितिबारे समीक्षा गरिएको थियो। बाढीको प्रभाव धादिङ, नुवाकोट र चितवनलगायतका जिल्लासम्म परेको सरकारले जनाएको छ।
बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा सुरक्षित स्थानान्तरणका लागि आवश्यक स्रोतसाधन परिचालन गर्न सरकारले सम्बन्धित निकायलाई सक्रिय बनाएको छ।
प्रतिक्रिया